जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १२:४१

अन्धविश्वासमा क्रुरता : शक्तिशाली धामी बन्न बालकको बली


जनकपुरधाम 

अन्धविश्वासले तराईका क्षेत्र कति गाजिएको छ भनेर यो घटनाले पुष्टि गर्दछ । शक्तिशाली धामी बन्न एक बालकको बलि चढाएको खुलेको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा ‘शक्तिशाली’ धामी हुने अन्धविश्वासले अढाई वर्षीय बालकको बलि दिएको खुलेको हो । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो ।

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरको ढोकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महतोले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महतोले गर्ने धामीझाक्रीको काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासले आप्नै आँगनमा धारिलो हतियारले रेटेर बालकको हत्या गरेको खुलेको हो। प्रहरीले महतोले हत्याका बेला लगाएका लुगा र प्रयोग गरिएको धारिलो हतियार समेत बरामद गरेको छ।

बालकको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । शव भेटिएको अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन् । बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान बलितिरै केन्द्रित रहे पनि घटनास्थल र समयबारे अभियुक्तहरूको फरक–फरक बयानले छानबिन लम्बिएको थियो ।

प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गरेर छाडेको थियो । साहका छिमेकी धामी शत्रुघन महतोलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानले नयाँ मोड लिएको हो । मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् ।