जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १६:२६

हावाहुरीले केराखेतीमा क्षति


चितवन, जेठ १७

चितवनमा बिहीबार साँझ आएको हावाहुरीले किसानको केराखेतीमा धेरै क्षति पुर्याएको छ। पश्चिम चितवनका किसानको पाक्नै लागेको केरामा क्षति पुगेको चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महत्तोले बताउनुभयो । हावाहुरी आएपछि आफूले केही स्थानको अवलोकन गर्दा पाक्नै लागेको केरा हावाले ढलाउँदा किसानलाई ठूलो नोक्सानी भएको उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार पश्चिम चितवनका पटिहानी, पार्वतीपुर र जगपुर क्षेत्रमा करिव साढे ५०० विघामा केराखेती लगाइएको छ । अधिकांशको केराखेतीमा क्षति पुगेको भन्दै स्थलगत अवलोकन र किसानसँगको भेटघाटपछि वास्तविक क्षति थाहा हुने महत्तोले जानकारी दिनुभयो । पश्चिम चितवनमा ५० जना किसान केरा खेतीमा आवद्ध रहेको उहाँको भनाई छ। केरा किसान नेत्रप्रसाद पौडेलले आफ्नो पार्वतीपुरमा ७ विघा क्षेत्रफलमा लगाइएको अधिकांश केराको बोट ढलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अबको १५ दिनमा काटेर बेच्ने तयारी गरीरहेको केरा विहिवार साँझ आएको हावाहुरीले क्षति पुग्यो ।’ पौडेलले पार्वतीपुरमा ७ विघा र जगतपुरमा २ विघा गरी ९ विघामा केराखेती गरीरहेको बताउनुभयो । आफूसँगै अन्य किसानको केरा वगानमा पनि धेरै क्षति पुगेको उहाँले जानकारी दिनुभयो । केरा उत्पादक संघका अनुसार केरामा आत्मनिर्भरतर्फ गईरहेको चितवनमा केरा खेतीतर्फ किसानको आकर्षण बढीरहेको छ ।

अघिल्लो वर्ष २७ सय विघा क्षेत्रमा केरा खेती भएकोमा यसवर्ष ३ हजार विघामा केरा खेती भइरहेको संघका अध्यक्ष महत्तोले बताउनुभयो । जिल्लामा केरा खेतीमा करिव ७०० बढी किसानहरू संलग्न रहेका छन् भने अधिकांश किसानले केरा खेतीको विमा गरे पनि केही किसानले विमा नगर्दा हरेक वर्ष हावाहुरीका कारण ठूलो क्षति व्योहोर्नुपर्ने बाध्यता खेप्दै आएका छन् ।