जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १८:५६

घणश्याम भुसाल भन्छन : दुई अध्यक्षबीच भएको आलोपालो नेतृत्वको गोप्य सहमति पार्टीले चिन्दैन


काठमाडौं, जेठ २०

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घणश्याम भुसालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच भएको पाँच बुँदे गोप्य सहमतिलाई पार्टीले नचिन्ने बताउनु भएको छ । पार्टी एकताको अघिल्लो दिन तात्कालिन एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सहमतिलाई पार्टीले नचिन्ने भुसालले बताउनु भएको हो ।

दुई अध्यक्षबीच आलोपालो नेतृत्वको बिषय बाहिर उछालिएपछि भुसालले आफू यसअघि सो बिषयमा जानकार नभएको भनद्यै सहमतिलाई स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफल गरी टुंगो लगाउनु पर्ने बताउनु भयो । सो सहमतिको बिषयमा सचिवालयले निर्णय लिने वा टुंगो लगाउने काम हुनै नसक्ने जिकिर पनि उहाँले गर्नुभएको छ ।

‘दुबै अध्यक्षको हस्ताक्षर रहेको जुन सहमति पत्र बाहिर आएको छ, त्यसलाई पार्टीले चिन्दैन । किनभने, दुई जनाबीच सहमति भएको थियो, सहमतिमा के–के थियो भन्ने कुरा पार्टीलाई औपचारिक रुपमा जानकारी छैन,’ भुसालले भन्नुभएको छ, ‘यो विषय पार्टीभित्र मुद्दाको रुपमा उठेको पनि छैन ।’ यदि सो सहमति पत्रलाई पार्टीको एजेण्डा बनाउने हो भने यसलाई पार्टीमा औपचारिक रुपमा प्रवेश गराउनु पर्छ ।’ तात्कालिन एमालेका उपमहासचिवको जिम्मेवारीमा रहनुभएका नेता भुसालले अहिलेसम्म पार्टीको कुनै कमिटीमा नआएको यति गम्भीर विषय केन्द्रीय सचिवालयले मात्रै टुङ्गो लगाउन सक्ने अवस्था नरहेको अडान राख्नुभएको छ ।

‘अहिलेसम्म पार्टीको कुनै कमिटीमा नआएको यति गम्भीर विषय केन्द्रीय सचिवालयले मात्रै टुङ्गो लगाउन सक्ने अवस्था छैन, विगतमा विभिन्न चरणमा केन्द्रीय सचिवालयले आफ्नो नालायकीपन पर्याप्त मात्रामा प्रदर्शन गरिसकेको छ । सार्वजनिक भइसकेको यो सहमति पत्र स्थायी कमिटी वा केन्द्रीय कमिटीमा औपचारिक रुपमा ल्याएर छलफल गरी आवश्यक निर्णय लिनुपर्छ,’ भुसालको भनाई छ ।

दुबै अध्यक्षको हस्ताक्षर रहेको जुन सहमति पत्र बाहिर आएको छ, त्यसलाई पार्टीले चिन्दैन । किनभने, दुई जनाबीच सहमति भएको थियो, सहमतिमा के–के थियो भन्ने कुरा पार्टीलाई औपचारिक रुपमा जानकारी छैन

यदि त्यस्तो सम्झौता भएको हो भने त्यसको प्रमाणिकता, बैधता र आवश्यकताको बारेमा पार्टीमा औपचारिक रुपले छलफल गर्नुपर्ने उहाँको भनाई रहेको छ । ‘अब यसलाई दुई÷चार जना नेताहरु बसेर खासखुस गरेर लुकाउने वा छिपाउने गर्न पाइँदैन,’ सञ्चारमाध्यमसँग आफ्नो धारणा राख्नेक्रममा भुसालले भन्नुभएको छ ।