जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १४:४७

दुर्घटना बढेपछि कलंकी–कोटेश्वर सडक खण्डमा गति सीमा निर्धारण, मुख्य लेनमा अधिकतम ५० किमी


काठमाडौं, जेठ २१

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलंकी–कोटेश्वर सडक खण्डमा गति सीमा निर्धारण गरेको छ । तीब्र गतिका कारण अत्यधिक दुर्घटना बढेपछि ट्राफिकले यस्तो नियम लगाएको हो । पछिल्लो समय दुई दुर्घटनाको सिसि टीभि फुटेज हेरेपछि अत्यधिक गतिकै कारण दुर्घटना बढेको भन्दै अधिकतम ५० किमि मात्रै स्पिड चलाउन पाइने नियम लागू गरिएको महाशाखाले जनाएको छ ।

गत आइतबार मात्रै दुर्घटनामा दुई जनाको ज्यान गएको थियो । आइतवार चार बजेको थियो । एकान्तकुनाबाट बल्खुतिर जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कर्पियो स्वाट्टै मोडियो ।विपरीत दिशाबाट लस्करै आइतिर बोलेरो, महिन्द्राको जिप र बा४३प ९८६३ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष पत्रकार गोविन्द घिमिरे र चन्द्रमणि मुडभरी को ज्यान गएको हो ।

घटनास्थलमै ढलेका दुवैलाई प्रहरीले तुरुन्तै नजिकै रहेको मेगा अस्पताल लग्यो । अवस्था चिन्ताजनक भएपछि अस्पतालले रेफर गर्‍यो र, तत्कालै थापाथलीको नर्भिक अस्पताल पुर्‍याइयो । तर अस्पतालले दुवै जनालाई मृत घोषणा गर्‍यो । घटनालगत्तै पक्राउ परेका स्कर्पियो चालकले गाडीको टायर पन्चर भएको र अनियन्त्रित भएपछि दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीले सीसीटीभी फुटेज हेर्दा गुडिरहेको गाडी अचानक स्वाट्टै मोडिएर विपरीत दिशाबाट आएका सवारीसँग ठोक्किन पुगेको देखिएको बताए । ट्राफिक प्रहरीका अनुसार चीन सरकारको अनुदानमा पहिलो चरणमा विस्तार भएको कोटेश्वर–कलंकी सडक खण्डमा सबभन्दा बढी दुर्घटना हुने स्थान नै धोबीघाट–नयाँबाटो सडक हो । थापाका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गतिभन्दा सडकको संरचना नै मुख्य हो । यही घटनापछि ट्राफिकले स्पिड तोक्ने निर्णय गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार दिउँसोबाट कलंकी–कोटेश्वर सडक खण्डमा गति सीमा निर्धारण गरेको छ । महाशाखाले मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ । सोमबारदेखि उक्त सडक खण्डमा सवारीसाधनको गति मापन गरिरहेको महाशाखाले तोकिएको भन्दा धेरै गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० को दफा १६४अनुसार कारबाही गर्ने जनाएको छ ।

महाशाखाका एसएसपी वसन्त पन्तले कोटेश्वर–कलंकी सडक खण्डमा बढेको दुर्घटना न्यूनीकरण गर्न सोमबारदेखि नै एक साता लामो अभियान सुरु गरिएको बताउनु भयो । पहिलो साता ट्राफिकले गति निर्धारणसम्बन्धी सूचना प्रवाह गर्ने र त्यसपछि सवारीको गति पत्ता लगाउने लेजर गन लिएर बसेका ट्राफिकले तोकिएको भन्दा धेरै गतिमा सवारी हाँक्नेहरूलाई कारबाही गर्ने उहाँको भनाई छ ।

ट्राफिक प्रहरीले उपत्यकाका धेरै दुर्घटना हुने स्थानहरूलाई ब्ल्याक स्पट पनि तोकेको छ । एसएसपी पन्तका अनुसार धेरै दुर्घटना हुने ब्ल्याक स्पटमध्ये आइतबार दुर्घटना भएको स्थान पनि एक हो । उहाँले तीव्र गति, आवश्यक ट्राफिक चिह्न र ट्राफिक बत्तीको अभावमा दुर्घटना निरन्तर भइरहेको जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा खटिएका एक ट्राफिक प्रहरीले त्रुटिपुर्ण सडक संरचना, ओभरहेड ब्रिजको कमी, सडकछेउमा अपर्याप्त बत्ती र सडक संकेतको अभाव मुख्य कारण रहेको बताएका छन । गत चैत २२ मा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ट्रक पनि आइतवार दुर्घटना भएको स्थाननजिकै दुर्घटनामा परेको थियो । स्कुटरलाई बचाउन खोज्दा अनियन्त्रित भएको गाडीले तरकारी बोकेर गुडिरहेको भ्यान किचेको थियो । त्यति बेला भ्यानमा सवार तीनमध्ये दुईजनाको मृत्यु भएको थियो ।