जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार ०७:०७

विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र दिगो र मानव उपयोगी विकास हुन्छ : प्रधानमन्त्री


काठमाडौं, जेठ २२ 

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरणमैत्री हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने उल्लेख गर्नुभयो ।

मुलुक समृद्ध बनाउने अभियान चलाउँदा वातावरण संरक्षणका लागि पनि जिम्मेवार र सचेत हुनुपर्ने सन्देशमा उल्लेख छ । आर्थिक, सामाजिक र भौतिक उन्नतिका लागि विकासका अभियान सञ्चालन गर्दा वातावरणीय विनाशको जोखिमतर्फ सजग रहन उहाँले अनुरोध गर्नुभएको छ । विकास र संरक्षणबीचमा तालमेल मिलाउने काम निकै चुनौतीपूर्ण हुने भन्दै उहाँले बहुआयमिक समृद्धि हासिल गर्दै जाँदा वातावरणीय विनाश हुँदै गयो भने त्यस खालको प्रगति दिगो र सबैका लागि उपयोगी नहुने उक्त सन्देशमा उल्लेख गर्नुभएको छ ।

“प्रत्येक नेपाली नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने आफ्नो मौलिक हकको सुनिश्चितताका लागि आआफ्नो जिम्मेवारी पूरा गर्न अझ तत्परता र क्रियाशीलताका साथ योगदान गर्नुहुनेछ भन्नेमा समेत म विश्वस्त छ”, सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले नेपालको संविधानले प्रत्येक नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको स्मरण गर्नुभएको छ ।

वायुको स्वच्छता कायम गरी स्वस्थ जीवनका लागि स्वच्छ वातावरणको प्रत्याभूति गर्ने अभियानले भावी पुस्ताका लागि पनि यो मौलिक हक उपभोग सुनिश्चित गर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसमेत सबैले वातावरणको स्वच्छता कायम गर्नुपर्ने सन्देशमा भनिएको छ ।