जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १३:४९

बार परिसरमा रोपियो रुद्राक्षको बिरूवा


काठमाडौं, जेठ २२

विश्व वातावरण दिवसका अवसरमा नेपाल बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरूवा रोपिएको छ। वातावरणको संरक्षण गर्ने उद्धेश्यले नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएशनको वातावरण तथा कानुन विभाग र प्राकृतिक संरक्षक समाजले संयुक्तरूपमा बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरूवा रोपेका हुन्।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र समाजका अध्यक्ष तथा पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले सर्वोच्च अदालत र बार एशोसिएशन वरिपरि बिरूवा रोप्नुभएको हो । बारका अध्यक्ष श्रेष्ठले सहरी वातावरण मानिसका लागि उपयुक्त नभएको हुँदा उपयुक्त वातावरणको सिर्जना सबैले मिलेर गर्नुपर्ने धारणा राख्नुभयो ।

सर्वोच्च अदालत बारका अध्यक्ष अधिकारीले बार परिसरमा खैनी, चुरोट र सुर्तीजन्य पद्धार्थको प्रयोगमा निषेध लगाउनुपर्ने बताउनुभयो । समाजका अध्यक्ष कटवालले आफ्नो र आफ्नो सन्ततिका लागि वातावरण जोगाउनुपर्ने र हरियाली राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले वातावरण संरक्षण गर्न प्रतीकका रूपमा कार्यक्रममा उपस्थित सबैलाई कागतीको बिरूवा प्रदान गर्नुभएको थियो ।