जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार ०६:०१

प्रधानमन्त्री ओलीको बोली पुरा : असार दोश्रो साता पाइपलाइनबाट पेट्रोलियम पदार्थ


काठमाडौं, जेठ २३

पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा अब आधा किलोमिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेकोे मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले जानकारी दिनुभयो ।

उहाका अनुसार पाइपलाइनको काम अब ४ दिन भित्रमा सकिने छ। असारको दोश्रो साता सम्ममा पेट्रोलियम पदार्थ ल्याउने गरी तीव्र रूपमा काम भइरहेको उनले बताए। ‘अब ४ दिन भित्रमा पाइप विच्छ्याउने काम सकाउने योजना छ, असारको दोस्रो साता अर्थात जुनमा पेट्रोल पठाउने भारतीय आयल कर्पोरेशनको योजना छ’ उहाले भन्नुभयो।

तेल ल्याउने विषयमा छलफल गर्न भन्सार विभाग, नापतौल तथा गुणस्तर विभाग र नेपाल आयल निगमका एक÷एक प्रतिनिधि भारत पुगेका छन् । तेल कसरी ल्याउने, कति ल्याउने भन्ने लगायतका विषयमा छलफल गरेर आज टोली फर्कने उनले जानकारी दिए। यसअघि वैशाखमै काम सक्ने भनिए पनि अब परियोजना सकिन जेठ अन्तिम लाग्ने देखिन्छ।

पथलैयादेखि अमलेखगञ्जसम्म पाइप विछ्याइएको छ। अब आधा किलोमिटर मात्र पाइप विच्छ्याउन बाँकी छ। जेठ महिनामा पाइपलाइनको काम सकाएर हाइड्रो टेस्ट, पाइप सफा गर्ने लगायतको काम हुने उनले जानकारी दिए।

अमलेखगन्ज डिपोमा पाइप लाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की तयार गरिएको छ। ती ट्याङ्की ४१ लाख किलोलिटर क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका छन्।

ती मध्ये तीन वटा ट्याङ्कीको मर्मतसम्भार र पाइप फेर्ने काम सकिएको परियोजनाका प्रबन्धक यादवले बताउनुभयो । पाइपलाइनबाट प्रतिघण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ। यसरी पेट्रोलियम पदार्थ भित्रिएपछि निगमको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने अनुमान छ।

यो परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले भारू २ सय करोड अनुदान दिएको छ। नेपालका तर्फबाट ७५ करोड लगानी हुनेछ। नेपालको ७५ करोड अहिले खर्च भएको छैन। यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने निगमको भनाइ छ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको आयोजना अनुसार कुल ६९.५ किलोमिटर पाइपलाइनको लम्बाइमध्ये ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर नेपालमा पर्दछ।

मोतिहारी–रक्सौल खण्डमा भने पाइप लाइन पूरा भई परीक्षणसमेत भइसकेको छ। गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभएको थियो ।