जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १४:१०

माधव नेपाल नमान्दा रोकियो सचिवालय बैठक, युरोप भ्रमणपछि धकेलियो कार्यबिभाजन


काठमाडौं, जेठ २३

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि स्थगित भएको छ । अनेक बखेडा झिकेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आत्मसमर्पण गराउने प्रयाश भएपछि आजको बैठक स्थगित भएको हो ।

भुगोलको आवश्यकता र कार्यकर्ताको चाहनाअनुसार भन्दा काम गर्नेलाई बाइपास गर्दै सचिवालयकै केही नेताहरु प्रस्तुत भएपछि आजको बैठकअघि भएका सहमति प्रयाश असफल भई बैठक स्थगित भएको एक नेताले जनताटाइम्सलाई बताए । सहमति प्रयाश सफल नभएपछि ७७ ओटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जसहित केन्द्रीय सदस्यको कार्यबिभाजनका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो ।

सहमतिका लागि अध्यक्ष ओली र पुष्पकमल दाहाल, प्रचण्डले बिहान ९ बजे बोलाइएको बैठक १२ बजेसम्म स्थगित गरी छलफल भएपनि बरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउनु भएपछि बैठक स्थगित भएको हो । प्रमुख नेताहरुबीच सहमति जुटन नसकेपछि सबै सचिवालय सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेपनि अध्यक्षद्वयले तयारी नपुगेकोले आज बैठक बस्न नसकिने जानकारी दिनुभएको हो ।

‘दुवै अध्यक्षले बैठकको तयारी पुगेन भन्नुभयो । त्यसैले बैठक स्थगित भएको छ,’ बैठक स्थगित भएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । बिहान ९ बजे अगावैबाट दुवै अध्यक्ष सहमतिका लागि छलफलमा जुटेपनि अर्का नेता नेपाललाई मनाउन नसक्नुभएको हो । नेकपाको सचिवालय बैठक अब प्रधानमन्त्री समेत रहेका ओलीको यूरोप भ्रमणपछि मात्र बस्ने अवस्था देखिएको छ । प्रधानमन्त्री ओली पर्सि युरोप भ्रमणमा निस्कनुहुनेछ ।

जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने बिषयमा अध्यक्ष ओलीलाई बरिष्ठ नेता नेपालले अप्ठ्यारोमा पार्दै आउनु भएको छ । ओलीले जिल्ला इन्चार्ज र सह इन्चार्ज मन्त्री र सांसदबाट समेत बनाउन सकिने प्रस्ताव गर्दा केही जिल्लाका ओली निकट भेट्रान नेता फाल्न बरिष्ठ नेता नेपालले मन्त्री र सांसदलाई इञ्चार्ज र सहइञ्चार्ज दिनै नहुने अडान राख्नुभएको छ । नेपालको सो अडान आफ्ना इमान्दार र जिल्लामा लोकप्रिय नेताबिरुद्धको अश्त्रका रुपमा अध्यक्ष ओलीले बुझ्नुभएको छ । सोही कारण सहमति जुटन नसकेको हो ।

सचिवालयका एक नेताका अनुसार झापा, रुपन्देही, काभ्रेलगायत एक दर्जन जिल्लामा मापदण्डअनुसार इञ्चार्ज हुने नेतालाई फाल्न बरिष्ठ नेता नेपालले सांस्द र मन्त्रीलाई इञ्चार्ज र सहइञ्चार्ज बन्न नदिने अडान राख्नुभएको छ । आजको सचिवालय बैठक स्थगित गरी नेता नेपाललाई पटक पटक दुवै अध्यक्षले मनाउने प्रस्ताव गरे पनि उहाँ आफ्नो अडानबाट पछि नहटेपछि बैठक नै स्थगित भएको हो ।

नेकपामा पछिल्लो समय नेताहरु मापदण्डको रटान लगाएर आफू निकटलाई जिम्मेवारी दिने र इमान्दारीपुर्वक काम गर्नेलाई मापदण्डको बहानामा पन्छाउने खेलमा लागेका छन । अर्थात मापदण्डको नाममा कार्यकर्ताबीच जतिसुकै लोकप्रिय भएपनि वा जतिसुकै राम्रो काम गरेको भएपनि बिगतमा गुटका आधारमा मापन गरी दण्ड दिने काम अघि बढेको हो

नेकपामा पार्टी एकता भएको एक बर्षसम्म नेताहरुकै जुँगाको लडाईले केन्द्रीय सदस्यहरुको कार्यबिभाजनसमेत हुन सकेको छैन । केन्द्रीय निकाय, बिभाग, सल्लाहकार परिषदसमेत गठन हुन सकेको छैन । नेकपामा पछिल्लो समय नेताहरु मापदण्डको रटान लगाएर आफू निकटलाई जिम्मेवारी दिने र इमान्दारीपुर्वक काम गर्नेलाई मापदण्डको बहानामा पन्छाउने खेलमा लागेका छन ।

अर्थात मापदण्डको नाममा कार्यकर्ताबीच जतिसुकै लोकप्रिय भएपनि वा जतिसुकै राम्रो काम गरेको भएपनि बिगतमा गुटका आधारमा मापन गरी दण्ड दिने काम अघि बढेको हो । पछिल्लो पटक बरिष्ठ नेता नेपालले राख्नुभएको मापदण्डको सो अडानलाई अध्यक्ष ओलीले आफू निकट र योग्य नेतालाई दण्ड दिने अभियानकै रुपमा लिनुभएको छ ।