Untitled Document

सौर्य सडक बत्तीको बोलपत्रमा अनियमितता

चरिकोट। दोलखाको भीमेश्वर नगरपालिकामा सौर्य सडक बत्ती जडान गर्ने बोलपत्र आह्वानमा अनियमितता भएको सार्वजनिक भएको छ ।

सौर्य सडक बत्ती जडान गर्ने भन्दै बोलपत्र आह्वानका लागि भीमेश्वर नगरपालिकाले गत माघ १० गते सूचना प्रकाशन गरेको थियो । बोलपत्र आह्वान गरेको नगरपालिकाले फागुन १२ गते रितपूर्वक तीनवटा कम्पनीले बोलपत्र पेस गरेकामा सूर्य रोशनी इन्डस्ट्रियल प्रालि पुतलीसडक काठमाडौँलाई जडानका लागि छनोट गरेको थियो ।

बत्ती जडानका लागि सूर्य रोशनीलाई स्वीकृति दिइएको तर नगरपालिकाका केही कर्मचारीले रकम माग गरेपछि उसले कमिसन रकम दिन नसक्ने भनेसँगै जडान प्रक्रिया रद्द गरेको खुल्न आएको छ । नगरपालिकाले टेन्डर आह्वान गरेको प्रथम पटककोे प्रक्रियालाई रद्द गरी पुनः अर्काे सूचना चैत ३ गतेको दोलखाको स्थानीय दैनिकमा प्रकाशन गरेको छ ।

स्रोतका अनुसार नयाँ प्रक्रिया थालेर नगरपालिकाका कर्मचारीले कमिसन खान अर्काे सूचना निकालेको बुझिएको छ । सूचनामा पुनः अर्काेपटक सूचना प्रकाशन गर्दा पनि नगरपालिकाले दोस्रोपटक प्रकाशित भनेरसमेत उल्लेख गरेको छैन ।

यता, सौर्य बत्ती खरिद तथा जडान प्रक्रियाबारे भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर विकलाई जिज्ञासा राख्दा कार्यालयभित्रकै कर्मचारीबीच विवाद र समन्वय नहुँदा टेन्डर प्रक्रिया रद्द गरेको बताउनुभयो । उहाँले आफू कुनै कमिसन र आर्थिक चलखेलमा नलागेको दाबीसमेत गर्नुभयो ।

विकले संस्थाभित्र समन्वय नभएकै कारण प्रक्रिया उल्ट्याएको स्वीकार गर्नुभयो । माघ महिनामा निकालिएका सूचनामा रकम उल्लेख गरिएको छैन भने दोस्रो सूचनामा रु ९१ लाख २७ हजार १२३ को बोलपत्र आह्वान गरिएको छ ।

नगरपालिकाका स्थानीयवासी कमिसनको लोभमा कर्मचारीले पटकपटक सूचना निकालेर टेन्डर प्रक्रिया थाल्नु र रद्द गर्नुले नगरपालिकाको दुर्नियत रहेको बताउँछन् । एक स्थानीयवासी भन्छन् – यो सरासर नगरपालिकाको कमाउने धन्दा हो । उज्यालोबाट अँध्यारोमा धकेल्न नगरपालिकाका कर्मचारी उद्यत छन् ।

एक व्यक्तिको दुई ठाउँमा सरुवा

दोलखाको भीमेश्वर नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत नरबहादुर विकको दुई स्थानमा सरुवा भएको छ । विकको स्थानीय विकास मन्त्रालयले सार्वजनिक गरेको सरुवाको सूचीमा दुई ठाउँ सरुवा भएको देखिन्छ । विकको धनुषाको मिथिला नगरपालिकाको कामु पदमा र कञ्चनपुरको बेलौरी नगरपालिकामा निमित्त प्रमुखका लागि सरुवा भएको छ । विकले भने आफूलाई जता अनुकूल हुन्छ उतै जानेसमेत बताउनुभएको छ ।

५ चैत्र २०७३, शनिबार १८:३९मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *