जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १३:०५

लालबाबु पण्डितबिरुद्ध खनियो संसदीय समिति, लोकसेवाको बिज्ञापन नै रद्द गर्ने धम्की


काठमाडौं, जेठ २५

राज्य ब्यवस्था समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबिरुद्ध खनिएको छ । लोकसेवा आयोगको बिज्ञापनको बिषयमा छलफलका लागि पटक पटक बोलाउन समितिमा नआएपछि मन्त्री पण्डितबिरुछ समितिले कठोर निर्णय लिएको हो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितलाई आगामी सोमबार बस्ने बैठकमा सहभागी हुन अन्तिम मौका दिने निर्णय गरेको हो । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापनबारे सरकारको धारणा बुझ्न समितिले शुक्रबार बैठक राखेको थियो । बैठकमा अनुपस्थित भएपछि मन्त्री पण्डितलाई सोमबारका लागि अन्तिम मौका दिने भएको हो ।

सोमबार बस्ने बैठकमा मन्त्री पण्डित सहभागी नभए विज्ञापन रद्द गर्न सरकारमार्फत आयोगलाई निर्देशन दिने समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री पण्डितले शुक्रबार अपरान्हको बैठकमा आउने सहमति गरे पनि उपस्थित नभएको भन्दै सभापति श्रेष्ठले गम्भीर आपत्ति जनाउनु भयो । बैठकमा समितिका सदस्य विजय सुब्बाले भने मन्त्री पण्डितले २५ गतेपछि बस्ने बैठकमा आउने जानकारी गराए पनि निर्णय लिन हतारो गरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजेन्द्र महतोले मन्त्री पण्डित अनुपस्थित भएको उल्लेख गर्दै तत्काल विज्ञापन फिर्ता लिन आयोगलाई निर्देशन दिन सभापति श्रेष्ठमाथि दवाव दिनुभएको थियो । गत २० जेठबाट समितिले सो विषयमा छलफल गर्न खोजेपछि मन्त्री पण्डितले समितिको बैठक छल्दै आएको आरोप लागेको छ ।

मन्त्री पण्डितले संसदीय समितिलाई छल्न खोजेकोमा सत्तारुढ नेकपाकै सांसदले समेत विरोध जनाएका छन् । संविधान र संघीयताविपरीत विज्ञापन आएकाले त्यसलाई फिर्ता लिनुपर्ने समितिका धेरै सदस्यको मत रहँदै आएको छ । यद्यपी कामको सिलसिलामा राजधानी बाहिर जानुपरेको कारण मन्त्री पण्डित समितिमा उपस्थित हुन नसक्नु भएको हो ।