जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार ०८:५०

पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, ९ गम्भिर विरामी


पाल्पा ।

पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य ९ जना गम्भिर विरामी परेका छन् । निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जंगली च्याउको तरकारी खाने क्रममा एकै परिवारका दुई जनाको मृत्यु भएको हो ।

विशालुच्याउ खाएर ९ वर्षकी निर्मला सिंह ठकुरी र चार वर्षकी विष्णु सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो । शुक्रबार बेलुका च्याउ खाएपनि उनिहरु विरामी भने शनिवार मध्यान्हबाट भएका थिए । विरामी भएपछि उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न ल्याइएको थियो । दुई जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।

च्याउ खाएर बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षकी छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुर सिंह ठकुरी, ३० वर्षीय दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह, निशा सिंह ठकुरी र निरुता सिंह ठकुरी रहेको झिरुवासका वडाध्यक्ष लक्ष्मीप्रसाद पाटामगरले बताउनु भयो ।

उनीहरुको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। नवलपुरको सीमानामा पर्ने सार्कीडाँडा जिल्लाकै दुर्गम गाउँ हो। च्याउ खाएपछि वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि लगिएको थियो। विरामी हुनेहरु तीन परिवारका रहेको प्रहरीले जानकारी दिनुभयो ।