जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १९:४९

इटहरीका मेयर द्वारिक चौधरीले फिर्ता लिए प्रेसलाई चोट पुग्ने अभिब्यक्ति (बिज्ञप्तीसहित)


इटहरी, जेठ २६

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले नेपाली प्रेसप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै प्रेस जगतलाई चोट पुग्ने अभिब्यक्ति फिर्ता लिएको घोषणा गर्नुभएको छ । मेयर चौधरीले आज प्रेस बिज्ञप्ती जारी गरी फेसबुकमा ब्यक्त प्रतिक्रियाको बिषयमा एक जना पत्रकारसँग आवेगजन्य अभिब्यक्ति दिन पुगेको भन्दै प्रेस जगतलाई चोट पुगेको अभिब्यक्ति फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

‘फेसवुक कम्मेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण मैले ब्यक्त भनाइहरुवाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख ब्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएको हदसम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु । मेरो सञ्चारजगत प्रति चोट पूर्याउने कुनै मनसाय छैन र आगामी दिनमा पनि रहने छैन । इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ,’ चौधरीको बिज्ञप्तीमा भनिएको छ ।

यस्तो छ मेयर चौधरकिो विज्ञप्ती

म लामो राजनीतिक यात्रा पार गरेर आएको ब्यक्ति हँु । २४ बर्षको उमेरमै तत्कालिन हाँसपोसा गाविसको अध्यक्ष भएर दुई कार्यकाल परीक्षण भइसकेको जनप्रतिनिधि पनि हुँ । अहिले इटहरी उपमहानगरको नेतृत्व गर्ने जनअभिमत प्राप्त ब्यक्ति हुँ । म उद्धण्ड हुँदै होइन, म अनुशासित ब्यक्ति हँु । तर इटहरीका एक जना पत्रकारले फेसवुक कम्मेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण मैले ब्यक्त भनाइहरुवाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख ब्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएको हदसम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।

मेरो सञ्चारजगत प्रति चोट पूर्याउने कुनै मनसाय छैन र आगामी दिनमा पनि रहने छैन । इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ । यो संवैधानिक हकप्रति सधैै प्रतिवद्ध रहने छ । हामी दुवै पक्ष परिस्किृत र परिमार्जित वन्दै इटहरीको सम्वृद्धि र विकासमा अघि वढनु पर्छ भन्ने मेरो मान्यता हो । प्रेस जगतको भूमिकाविना नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तनहरु संभव हुने थिएनन । यति गौरवशाली महत्व रहेको प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढिकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुईमत नहोला । हामी भ्रष्टाचारविरुद्धको शुन्य सहनशिलताको अभियानमा छौं । यो अभियानमा सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य छ । यो अभियानमा समस्त सञ्चारकर्मी मित्रहरुलाई सहयोगका लागि हार्दिक आग्रह गर्दछु ।

पूनः दोहोर्याउन चाहन्छु इटहरीको विकासका लागि उपमहानगरले कुनै कसर वाँकी राख्ने छैन । परिर्वतन र सम्वृद्धिको यो यात्रामा सवै पक्षलाई सामेल भइदिन हुन अनुरोध गर्दछु ।