जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १२:१७

गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा, निःशुल्क मुटु परीक्षण


चितवन, जेठ २८

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन् । गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “वडाबाटै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने अभियानअन्तर्गत सबै वडाबाट स्वास्थ्य सेवा दिन शुरु गरेका हौँ, हामीले स्वास्थ्यचौकी नभएका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी स्वास्थ्य सेवा शुरु गरेका छौँ ।” गाउपालिकाले वडा नं १ भाराङ, वडा नं २ मायाटार, वडा नं ३ माझगाउँ र वडा नं ७ भालुमारा स्याङ्दीमा गरी चार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

अहिले गाउँपालिकामा रहेको सात वडामा ५ स्वास्थ्यचौकी र ४ सामुदायिक स्वास्थ्य एकाइ गरी ९ स्वास्थ्य संस्था छन् । अध्यक्ष गुरुङका अनुसार सबै सामुदायिक स्वास्थ्य एकाइलाई बर्थिङ सेन्टरको रूपमा विकास गरिनेछ । गाउँपालिकाको विकट क्षेत्रमा आवश्यकतानुसार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिने उहाँले बताउनुभयो । यसअघि साविकको गाविस चण्डीभञ्ज्याङमा दुई, दारेचोकमा एक, काउलेमा एक र दाहाखानीमा एक गरी पाँच स्वास्थ्यचौकी थिए ।

यी चार गाविस मिलेर इच्छाकामना गाउँपालिका बनेको हो । २५ श्ययाको अस्पताल बन्ने प्रक्रिया अघि बढिसकेको पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।गाउँपालिकामा रहेका सबै बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिने भएको छ । गाउँपालिकाले हरेक महिना सबै गाउँका विद्यालयमा स्वास्थ्य टोली पठाएर बालबालिकाको निःशुल्क मुटुको परीक्षण गर्ने भएको हो ।

पछिल्लो समय बालबालिकामा मुटुको समस्या जटिल बन्दै गएकाले समयमै रोग पत्ता लगाई उपचार गर्न निःशुल्क परीक्षण गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताउनुभयो ।