जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १३:५३

सुदूरपश्चिममा छाउपडी कहर : एक वर्षमा १६ महिला तथा बालबालिकाको मृत्यु


अछाम, जेठ २८

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ । अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर रावलले जानकारी दिनुभयो । छाउपडीले महिला र बालबालिका मर्कामा पर्दै आएका छन् । महिला तथा बालबालिका छाउगोठमा आगो तथा धुवाँले निस्सासिएर, सर्पले टोक्ने लगायतका कारणले मृत्यु भएको हो ।

मानव अधिकार उलङ्घन र जातीय छुवाछूत, भेदभाव तथा छाउपडी कायमनै रहेको महिला अधिकारकर्मी तथा अधिवक्ता आरती जोशीले जानकारी गराउनुभयो । चालू आर्थिक वर्षको हालसम्म मानव अधिकारसम्बन्धी २१ वटा उजुरी आयोगमा परेको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख रावलले जानकारी दिनुभयो । अधिकार र कानूनका बारेमा ग्रामीण क्षेत्रका नागरिकलाई जानकारी नहुनु र अदालत वा प्रशासनसम्म पुगे उजुरीकर्तालाई समाजले हेर्ने दृष्टिकोणफरक हुने भएकाले सर्वसाधारण उजुरी दिन डराउने उहाँको भनाइ थियो ।

समाजमा छाउपडी, छुवाछूत र भेदभाव, घरेलु हिंसाजस्ता घटना अझै बाहिर खुल्न नसकेको मानव अधिकार अभियन्ताको भनाइ छ । असह्य पीडा पाएपछि मात्रै केही घटना बाहिर वा अदालतसम्म पुग्ने गरेका अधिवक्ता युवराज जोशीले बताउनुभयो । ग्रामीण भेगमा महिला तथा छुवाछूत र छाउपडीका कारण धेरैले हिंसाको शिकार हुनुपरेको अमरगढी–३ की दुर्गा पन्तले जानकारी गराउनुभयो ।