Untitled Document

अन्तर्घात गरेको भन्दै रुकुम कांग्रेसले गर्यो सांसदसहित सात नेतालाई साधारण सदस्यबाटै निष्काशन

रुकुम, साउन २४

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसले सांसद मीठु मल्लसहित २१ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । रुकुम जिल्लाको स्थानिय तहको निर्वाचनका क्रममा पार्टीका आधिकारीक उम्मेद्धारलाई हराउन भूमिका खेलेको भन्दै पूर्व राज्यमन्त्री समेत रहनु भएकी सांसद मल्ल सहित सात जनालाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको हो ।

स्थानीय निर्वाचन समीक्षाका लागि बसेको स्थानीय तहका उम्मेदवार, क्षेत्रीय कार्य समिति, भातृ संघ संगठनका पदाधिकारी सहितको भेलाले सांसद मल्लसहित ७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ भने १४ जनालाई थप स्पष्टीकरण मागेको छ । जिल्ला पार्टीले गठन गरेको अनुशासन विभागको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद मल्ल, जिल्ला सचिव जनककुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खडाका, निर्वाचन क्षेत्र नम्वर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन, बालकृष्ण भाटलाई पार्टीबाट निस्कासन गरेको हो ।

सांसद नेपाली काग्रेसको तर्फबाट २०७० सालको निर्वाचनमा समानुपातिक तर्फबाट विजयी हुनु भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहरी विकास राज्यमन्त्री हुनुहुन्थ्यो ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीको हितविपरीत कार्य गरेको भन्दै गत जेठ ८ गते अनुशासन विभागले २५ जनालाई लिखित स्पष्टिकरण सोधेको थियो । तीमध्ये चार जनाले मात्रै लिखित स्पष्टीकरण दिएको र त्यो चित्तबुझ्दो भएकाले उनीहरुलाई सफाई दिएको अनुशासन विभागले जानकारी दिएको छ ।

 

२४ श्रावण २०७४, मंगलवार १३:५६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *