Untitled Document

मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौ, साउन २६

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन गर्दै उहाँले त्यस क्षेत्रको भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्कने विषयवस्तुमा ध्यान दिन आग्रह गर्नु भएको हो ।

सो विश्वविद्यालयले आंगिक क्याम्पसको सम्बन्धन विस्तारको कार्यलाई प्राथमिकता दिन पनि प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । विकासका दृष्टिले सधँै पछाडि परेको क्षेत्रको विश्वविद्यालयले आफ्ना योजनाअनुसार कार्यक्रम अघि बढाओस, सरकार आवश्यक सहयोग गर्न तयार छ कुलपति समेत रहनु भएका प्रधानमन्त्री देउवाको भनाई छ । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सो विश्वविद्यालयका लागि आवश्यक पर्ने थप बजेट निकासाका लागि सरकार सकारात्मक रहेको बताउनु भयो ।

बहुविश्वविद्यालयको अवधारणा बमोजिम २०६७ सालमा कञ्चनपुरको पुनर्वासमा रहेको ६२ बिगाहा जमिनमा स्थापित सो विश्वविद्यालयले व्यवस्थापन, मानविकी, शिक्षा र सामाजिक शास्त्र संकायमा स्नातक र स्नातकोत्तर तथा इञ्जिनियरिङ र विज्ञानमा स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ । आउँदो मंसिरमा हुने पहिलो दीक्षान्तमा करिब ४०० विद्यार्थी सहभागी हुनेछन् ।

 

२६ श्रावण २०७४, बिहीबार १३:५८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *