Untitled Document

कार्यकर्तालाई एमाले निर्देशन : बाढी-पहिरोपीडितको उद्दार र राहतमा जुट

काठमाडौं, साउन २९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका बिभिन्न भागमा आएको बढी पहिरोमा परी घरवारबीहीन बनेका र फसेका नागरिकको उद्दार तथा राहतमा खटन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । बाढी पहिरो पीडित नागरिकको तत्काल उद्धार गर्न र पीडितलाई राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै एमालेले आफ्ना कार्यकर्तालाई समेत तत्काल सो कार्यमा लाग्न निर्देशन दिएको हो ।

एमाले महासचिव इश्वर पोखरेलले बिज्ञप्ती जारी गरी एमाले कार्यकर्तालाई राहत र उद्धारको काममा लाग्न निर्देशन दिनुभएको हो । ‘सङ्कटको यस घडीमा बाढी पहिरो पीडितहरुको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गर्दछ,’ महासचिव पोखरेलको बिज्ञप्तीमा भनिएको छ ।

सङ्कटको यस घडीमा बाढी पहिरो पीडितहरुको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गर्दछ

 

मुलुकभर आएको भीषण बर्षाका कारण देशका विभिन्न भागमा विनाश र भयावह अवस्था उत्पन्न भएको छ । बाढी पहिरोमा परी दर्जनौं भन्दा बढी वेपत्ता भएका छन् । हजारौं व्यक्ति विस्थापित भएका छन् र सयौं घरहरु डुबेका÷भत्किएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, दाङ, बाँके, बर्दिया लगायत तराईका अधिकांश जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

पहाडका धेरै जिल्लामा पहिरोले थुप्रैको ज्यान लिनुका साथै कैयौं बस्तीलाई जोखिममा पुर्याएको छ । तराईका अधिकांश नदीहरुमा पानीको सतहले खतराको तह पार गरेको छ । पूर्व–पश्चिम राजमार्ग, मुङ्लिन–नारायणघाट सडक लगायत धेरै राजमार्ग र सडकहरुमा पहिरोका कारण आवागमन बन्द भएको छ ।

‘सङ्कटको यस घडीमा अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन गर्न नेकपा (एमाले) सरकारसँग माग गर्दछ । कोशी नदीमा पानीको प्रवाह खतराको सङ्केतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढङ्गले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा बर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कुटनीतिक पहल गर्न माग गर्दछ,’ बिज्ञप्तीमा भनिएको छ ।

२९ श्रावण २०७४, आईतवार १०:३१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *