Untitled Document

परदेशीको व्यथा (कविता)

 

मलाई आज किनकिन औडी क्यू सेभेन चढ्न मन छैन
मलाई आज किन किन अपेरा हाउसबाट समुन्द्रको छालहेर्न मन छैन
मन्द चिसो बिहानीमा सूर्यको न्यानो किरणपनि धित खोलेर ताप्न मन छैन
सच्चाईमा मलाई आज एकपल परदेशी भएर बस्न मनछैन ।

मेरो देश बाढीले डुवेको छ म लेदोले पुरेको धान उठाउन चाहान्छु ।
मेरो देश पहिरोले बगेको छ, म त्यही ढुड्ंगा माटो मिलाउन चाहान्छु ।
मेरो गाउमा कटान रोक्न बालुवा बोक्दै होलान सवै म त्यै गर्न चाहान्छु ।
मेरो आंगनका फूलहरू ढलेका होलान म तिनीहरूलाई उठाउन चाहान्छु ।

म परदेशीनुको पनि एउटाँ कठोर कथा छ करूण यथार्थ छ
मैले रूदै मेरो देश छाड्दा मजालिनेको हातमा मेरो देश छ
पौरख र परिस्थितीले पेट नचलेपछी साहुको ऋणको सहारामा परदेशीएको म
दिनभरी घाममा र रातभरी गाउंमा तनमन पुर्याएर जीएको छु यहां

म मेरो देशमा फर्कन चाहान्छु गाउमा बस्न चाहान्छु
म मेरो परिवारमा जीउन चाहान्छु
म मेरो धाराको पानी पिउन चाहान्छु
मलाई परेदेश पठाएर रेमिट्यान्समा मस्ति गर्नेहरूको नाममा
ठूला ठूला अक्षरमा तस्विर सहित श्रदान्जली लेख्न चाहान्छु ।

म मेरो देशको आउने पुष्ता बाध्यताले बिदेश नजाओस भन्न चाहान्छु ।
परदेशी भांडा माझेर र सडक बढारेर पठाएको रेमिट्यान्स खानेलाई फांसीदेउ भन्न चाहान्छु ।
प्रकृतीको अनुपम उपहार मेरो देश संसारको स्वार्ग हुन सक्छ
श्री कृष्ण सग प्रभू एउटा एउटा असलमानिस यो देशमा पठाईदेउ भन्न चाहान्छु ।

इन्द्र न्यौपाने\ सिड्नी

३० श्रावण २०७४, सोमबार १६:३१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *