जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १०:२२

प्रधानमन्त्री ओली आइतवार विहान काठमाडौं आईपुग्ने


काठमाडौं ।

युरोपका तीन देशको भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आइतवार विहान काठमाडौं आईपुग्नु हुने भएको छ । गत शनिबार जेनेभा जानु भएका प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फ्रान्सको भ्रमणमा रहनु भएका ओली आजै जेनेभा फर्किनु हुने कार्यसूची रहेको छ । जेनेभाबाट नेपालका लागि आजै उड्ने र भोलि बिहान साढे १० बजे काठमाण्डौंमा उत्रने सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्स तीनै युरोपेली मुलुकको औपचारिक भ्रमण सक्नु भएको छ । उहाले आज जेनेभामा नेपालका राजदुत लगायत अन्य उच्च व्यक्तित्वसंग अनौपचारिक छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नु भएको थियो । समारोह पश्चात उहा सोही दिन बेलायत प्रस्थान गर्नु भएको थियो । यस्तै बेलायतको तीन दिने भ्रमण सकेर २९ गते फ्रान्स पुग्नु भएका प्रधानमन्त्री ओली विभिन्न औपचारिक कार्यक्रममा सहभागि हुनुभयो ।