जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १४:५३

प्रचण्डले सुनाए नेपालसँग दश करोड जनतालाई खान पुग्ने उत्पादन क्षमता रहेको निश्कर्ष


चितवन, जेठ ३२

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले खाद्यन्नमा आत्मनिर्भर बन्ने गरी नयाँ मोडलको विकासतर्फ नेपाललाई लैजाने गृहकार्य भइरहेको बताउनु भएको छ । चितवनको रामपुरमा कृषि विश्व विद्यालयले आज आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेलाको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो जानारी दिनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले पुरानो ढंगको बिकाश अव संभव नहुने बताउनु भयो । ‘पुरानो ढंगले विकास अव संभव छैन, त्यसैले नयाँ मोडलको विकास आवश्यक छ,’ प्रचण्डको भनाई थियो । समय अनुकुल विकास गर्न नसक्दा नै नेपाल पछाडि परेको ठोकुवा गर्दै प्रचण्डले समयको गतिअनुसार सरकारले काम गर्न नसकेको तथ्यलाई आफूहरुले स्वीकार गरेको बताउनु भयो । विकसित मुलुकमा कृषिलाई धेरै महत्वको रुपमा हेर्ने गरिए पनि नेपालमा भने यसको महत्व चिन्न नसक्दा पछि परिएको उहाँको भनाइ थियो ।

‘कृषिलाई आधुनिककरण नगरेसम्म विकासको स्वाद चाख्न पाइदैन । देशको आर्थिक विकासको लागि कृषिलाई आधुनिकीकरण गर्नु अपरिहार्य छ,’ प्रचण्डले भन्नुभयो । उहाँले नेपालमा उत्पादन भएको सामग्रीले यँहीकालाई खान नपुगेको भन्ने भनाइलाई अस्वीकार गर्नुभयो । ‘हामी प्रविधि भित्राउदैनौं, पुरानै शैलीबाट काम गर्छौ, अनि कसरी उत्पादन बृद्धि गर्न सकिन्छ ?’ प्रचण्डको भनाई थियो ।

उहाँले समय अनुकुलका विकासका सामग्री ल्याएर यहाँको कृषि उत्पादनलाई बृद्धि गराउनको लागि सम्वन्धित क्षेत्रलाई आग्रह पनि गर्नुभयो । ‘दश करोड जनतालाई खान पुग्ने गरी उत्पादन गर्न सक्ने क्षमता नेपाली माटोमा छ, तर यो तथ्यलाई हामीले चिन्न सकेका छैनौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले समय अनुसार काम गरेमा नेपाली जनतालाई खान पुगेर विदेश निर्यात गर्न सकिने तथ्य पनि राख्नुभयो ।

समाजबाद ल्याउनको लागि उत्पादन र रोजगार प्रयाप्त हुनु पर्दछ । हामी समाजवादको कुरा गर्छौं, तर अभाव र आयातमा बाचेका छौं, यसरी समाजवाद आँउदैन । हामीले अहिलेबाटै उत्पादनलाई जोड दिनुपर्छ, त्यो पनि कृषिको माध्यमबाट

‘समाजबाद ल्याउनको लागि उत्पादन र रोजगार प्रयाप्त हुनु पर्दछ । हामी समाजवादको कुरा गर्छौं, तर अभाव र आयातमा बाचेका छौं, यसरी समाजवाद आँउदैन । हामीले अहिलेबाटै उत्पादनलाई जोड दिनुपर्छ, त्यो पनि कृषिको माध्यमबाट,’ उहाँको भनाई थियो । रामपुर कृषि क्याम्पसका पूर्वविद्यार्थी समेत रहनुभएका नेकपा अध्यक्ष प्रचण्डले कृषिमा इजरायलको प्रविधि नेपालमा भित्र्याउनको लागि सरकारको आवश्यक गृहकार्य अघि बढाएको जानकारी पनि दिनुभयो ।