Untitled Document

माधव नेपालको ठोकुवा : भ्रष्टाचारीका प्रवक्ता कांग्रेसले देशलाई दिनसक्ने र कांग्रेसबाट देशले लिनसक्ने अव केही छैन

चितवन, भदौ १७

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने काँग्रेसको प्रस्ताव लज्जास्पद रहेको ठोकुवा गर्नुभएको छ । उहाँले भ्रष्टाचारीहरुको सेवा सहुलियतमा यसैगरी सक्रिय रहे नेपाली कांग्रेसको भविश्य प्रजापरिषदको जस्तै हुने ठोकुवा पनि गर्नुभयो ।

प्रदेश २ का जिल्लामा चुनावी अभियानमा सहभागि भएर फर्किनु भएका नेपालले भ्रष्टाचारी प्रमाणितहरुलाई चुनाव लड्न दिनु पर्ने भनी कांग्रेसले गरेको लविङप्रति आश्चर्य प्रकट गर्नुभयो ।

‘सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गरिरहेको छ । कांग्रेसले यस्तै रवैया कायम राखे उसको हबिगत प्रजा परिषद्को जस्तै हुन्छ,’ प्रेस चौतारी चितवनले आज आयोजना गरेको अन्तरक्रियामा बोल्दै बरिष्ठ नेता नेपालले भन्नुभयो ,  ‘भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने कानुन बनाउन संशोधन दर्ता गराएर कांग्रेसले लज्जास्पद काम गरेको छ ।’ उहाँले देशको प्रगति र उन्नती देख्न चाहने स्वाभीमानी कुनै पनि नागरिक कांग्रेसमा बस्न नसक्ने वताउनुभयो ।

‘भ्रष्टाचारीलाई सेवा सहुलियत दिने लज्जास्पद बाटोमा कांग्रेस यसैगरी हिंड्ने हो भने जनताले कांग्रेसलाई किन साथ दिने ?’ नेपालको प्रश्न थियो, ‘यस्तै हो भने स्वाभिमानी नेपालीहरु जो देशको प्रगति र उन्नति देख्न चाहन्छन् उनीहरु किन कांग्रेसमा बस्ने  ?’ उहाँले कांग्रेस ‘आउट डेटेड’ औषधि जस्तो भइसकेको वताउँदै अब कांग्रेसले देशका लागि दिनसक्ने केही नभएको टिप्पणी गर्नुभयो ।

‘देशले कांग्रेसबाट लिन सक्ने पनि केही छैन । जनताले उसलाई अस्वीकार गर्दै गएका छन्’ नेता नेपालले भन्नुभयो ।

जनताले लगाइदिएको टोपी किन फुकाल्नु ?

वरिष्ठ नेता नेपालले तराईमा एमालेमाथि भइरहेको आक्रमण अपराधिक मानसिकताबाट भएको भन्दै यसमाथि कडा कदम चाल्न सरकारसँग माग गर्नुभयो । ‘जसले जतिसुकै एमाले मधेसविरोधी भनेर प्रचार वा आक्रमण गरे पनि प्रदेश नम्वर २ मा एमाले नै पहिलो पार्टी बन्छ, जनताको मनमनमा एमाले छ’ वरिष्ठ नेता नेपालको भनाई थियो ।

निर्वाचन आचारसंहिता र निर्वाचन आयोगले वरिष्ठ नेता नेपाललाई सोधेको २४ घन्टे स्पष्टिकरणबारे सोधिएको प्रश्नमा नेता नेपालले जनताले लगाइदिएको टोपी आफूले फुकालेर फाल्न नमिल्ने वताउनुभयो । ‘जनताले सूर्यको टोपी लगाइदिए, मैले निकालेर फाल्न मिलेन, मैले पनि ठानेँ उम्मेदवारको मनोनयन पछि लगाउन नपाउने होला’ नेपालले भन्नुभयो, ‘अरुले के के गरे, के के लगाए त्यसतर्फ पनि निर्वाचन आयोगले ध्यान देओस ।’

 

१६ भाद्र २०७४, शुक्रबार १२:०३मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *