जनता टाइम्स

४ असार २०७६, बुधबार १३:४१

गर्मी बढेसँगै रगतको अभाव


चितवन, असार ४

जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिनुभयो ।

तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिएको हो । यो समयमा क्याम्पसहरुमा परीक्षा हुनु, गर्मी बिदा हुनु, रक्तदातामा उत्साह नहुनु, गर्मीका कारण शरीर शिथिल हुनु, राजनैतिक दलको क्रियाशीलता कम हुनुलगायतका कारण रगतको समस्या देखिएको हो ।

अस्पतालमा आएका बिरामीका आफन्त र स्वयम्सेवी रक्तदाताको भरमा केन्द्र सञ्चालन गर्नु परेको उहाँले बताउनुभयो । जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र २० भन्दा बढी निजी अस्पतालहरु छन् । ती अस्पतालबाट दैनिक शल्यक्रियाका लागि रगतको माग हुँदै आएको पौडेलले जनाकारी दिनुभयो ।

सङ्कलन गरेर राखिएकोभन्दा ताजाको माग भएपछि केन्द्रलाई रगत दिन समस्या परेको हो । पौडेलका अनुसार ताजा सेतो रगतको अभाव भएको छ । रगत नपाएर बिरामी मर्ने अवस्था नभए पनि जुनसुकै समयमा समस्या आउन सक्ने पौडेलको भनाइ छ । बिरामीलाई रगत आवश्यक परेर लिन जाँदा रगत दिने व्यक्तिसँगै लैजानुपर्ने बाध्यता छ ।

चितवनमा मात्रै नभएर अहिले देशभर नै रगतको अभाव देखिएको उहाँले जानकारी दिनुभयो । केन्द्रले चितवन, धादिङ, नवलपुर, नवलपरासी, बारा, पर्सा, तनहुँ, लमजुङ, गोर्खालगायतका १२ वटा जिल्लाबाट रगत सङ्कलन गर्दै आएको छ । तर यी सबै जिल्लामा गर्मीका कारण रक्तदाताको अभाव भएपछि रगतको समस्या देखिएको हो । जिल्लाका अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या उच्च रहेकाले रगतको माग बढिरहेको छ ।