जनता टाइम्स

५ असार २०७६, बिहीबार ०९:०३

जनकपुरधाममा ग्यास सिलिण्डर विस्फोट, तीन ओटा होटल जलेर नष्ट


धनुषा, ५ असार । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको छ ।

कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएपछि ग्यास सिलिण्डर पड्किएका थिए । ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

होटेल भित्र एकैठाउँमा राखिएको आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको थियो । विष्फोटमा मानवीय क्षति भने भएको छैन । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । गोविन्द मिष्टान्न भण्डारमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।