Untitled Document

स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु

नारायण ढुंगाना/रत्ननगर (चितवन)

नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ जनाको मृत्यु भएको हो । एक हजार १४६ जनामा ती रोगको सङ्क्रमण भेटिएका छन् ।

गत माघदेखि आजसम्मको तथ्याङ्कबारे जानकारी दिँदै महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लालले मौसमी ज्वरोमध्ये पनि इन्फ्लुएन्जा ए को प्रकोप बढी देखिएको बताउनुभयो । उहाँका अनुसार स्क्रब टाइफस नेपालका ३२ जिल्लामा देखिएको र ३०० जनामा रोगको सङ्क्रमण फेला परेको छ । स्क्रब टाइफसबाट स्याङ्जामा दुई र चितवनमा दुई जनाको मृत्यु भएको छ । नवलपरासी घर भएका दुई महिलाको चितवनमा उपचारका क्रममा साउन २२ र भदौ १० गते मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीको भनाइ छ ।

माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । नेपालमा २०७२ सालमा पहिलोपटक रोग देखापरेको थियो भने चितवनमा २०७३ सालमा देखिएको थियो । अघिल्लो वर्ष यहाँ मुसा र माइटमा गरिएको परीक्षणमा दुवैमा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भइसकेको छ । समयमै अस्पताल पुगेमा कुनै पनि रोगको ठूलो जोखिम भने नभएको चिकित्सकको भनाइ छ ।

मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने भएकाले काम गर्दा सावधानी अपनाउनुपर्ने र मुसा नियन्त्रणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ ।  यस्तै मौसमी रुघाखोकीबाट मृत्यु भएका १२ जनामध्ये सबैभन्दा बढी कास्कीका छन् । विभिन्न अस्पतालमा उपचार गरिएका कास्की घर भएका चार जनाको मौसमी रुघाकोकीबाट मृत्यु भएको तथ्याङ्क छ ।

यस्तै अन्य मृत्यु हुनेमा पाल्पाका दुई, स्याङ्जाका, बुटवल, ललितपुर र कास्कीका एक–एक तथा झापाका दुईजना बिरामीको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा लालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो आठ महिनामा दुई हजार ५३१ जनाको परीक्षणमा ८४६ जनामा मौसमी रुघाखोकीको सङ्क्रमण भएको पाइएको छ । तीमध्ये १२ जनाको ज्यान गएको हो । दुई जनाको भारतमा उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना भने नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।

काठमाडौँको सुविधायुक्त अस्पतालमा उपचारका क्रममा अधिकांश बिरामीको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । चितवनको भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारीका अनुसार फ्लुमा ए पोजिटिभ भएका बिरामी बढी देखिएका छन् । उनीहरुमा ए एच १ एन १ को बढी जोखिम हुने गरेको उहाँ बताउनुहुन्छ । यसलाई सर्वसाधारणले स्वाइनफ्लु भनेर चिन्ने गर्छन् । स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ ।

ज्वरो रुघाखोकी आएर दुई–तीन दिनमा ठीक नभए विशेषज्ञ चिकित्सक भएको असपतालमा उपचार गराउनुपर्ने सुझाव चिकित्सकको छ । ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउनुहुन्छ । दुवै रोगको बढी सङ्क्रमण भने चितवनमै छ । आजसम्म चितवनमा स्क्रब टाइफसबाट १३९ र मौसमी रुघाकोकीबाट ३०९ जनामा सङ्क्रमण फेला परिसकेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पन्ध्र जिल्लाका चौबीस जनामा डेङ्गु सङ्क्रमण 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका १५ जिल्लामा डेङ्गु रोग देखिएको छ । जसमा २४ जना सङ्क्रमित भएको र अहिलेसम्म मानवीय जोखिम भने भएको छैन । बढी डेङ्गु सङ्क्रमण फेला परेका जिल्लामा चितवनमा चार र दाङमा चारजना छन् ।

पूर्वी झापादेखि पश्चिम अछामसम्मका १५ जिल्लामा डेङ्गु पाइएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लाल बताउनुहुन्छ । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टे फालिएका र खुला भाँडाकुँडामा जमेको पानीमा फुल पारेर बच्चा बनाउने गर्छ । त्यसैले घरवरपर सरसफाइ गरी पानी जम्न नदिई लामखुट्टेबाट बचेमा रोग नलाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउनुहुन्छ ।

१९ भाद्र २०७४, सोमबार १९:५१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *