जनता टाइम्स

६ असार २०७६, शुक्रबार ०९:२६

जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला


काठमाडौं । जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति \ स्वीकृतिपत्र पाएपछि जुम्लामा पहिलोपटक विशेषज्ञ तहमा चिकित्सक उत्पादनको बाटो खुला भएको हो ।

यसले कर्णाली समग्र प्रदेशको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । साथै प्रतिष्ठानमा आगामी दिनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) को शैक्षिक कार्यक्रम सञ्चालन गर्न ढोका खुलासमेत भएको छ ।

नेपाल मेडिकल काउन्सिलको विहिवार बसेको बैठकले प्रतिष्ठानलाई सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति÷स्वीकृति दिने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले भन्नुभयो, “जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला भएको छ । यसले कर्णालीको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा फड्को मार्नेछ ।”

हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराइरहेको छ । नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय १०० जनशक्ति उत्पादन भइसकेको छ । शैक्षिकसत्र विसं २०७५\०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत भएको छ ।

विशेषतः जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थिति माथि उकास्न सरकारले ठूलो लगानीका साथ विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा शुरुआत गरेको थियो ।

विसं २०७० मा सो अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो । गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा तथा अक्सिन प्लान्टसमेत सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले जानकारी दिनुभयो ।

दैनिक २०० सम्म अन्तरङ्ग र बहिरङ्ग सेवा लिने सो अस्पतालमा तीन श्यया आइसियु रहेका छन् । “हामी यहाँ सेवा लिन आएका बिरामीलाई अन्यत्र रिफर नगर्ने अवस्थामा पुगेका छौँ । सिटीस्क्यान उपकरण सेवा शुरु हुँदैछ । नाक, कान र घाँटी विशेषज्ञ सेवा शुरु हुँदैछ”, उहाँले भन्नुभयो ।

एमडिजिपी तथा एमबिबिएस दुवै तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडान कार्य पूरा गरेपछि काउन्सिलका विज्ञ टोलीले पटकपटकको स्थलगत अध्ययन गरेको थियो । पछिल्लो समय काउन्सिलको अध्ययन टोलीमा जुम्ला जानुभएका एक विशेषज्ञ चिकित्सक भन्नुहुन्छ, “एमबिबिएस र एमडिजिपी तहको अध्ययन अध्यापन गराउन आवश्यक पूर्वाधार तथा जनशक्ति सबै तयार भएको देखियो, सोचेकोभन्दा राम्रो पूर्वाधार बनेछ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षाा मन्त्रालयले सो कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई एक वर्षअघि नै स्वीकृति दिइसकेका थिए । विसं २०७४ असोज २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पाँचाँै सिनेट बैठकले प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको थियो ।

चिकित्सक शिक्षा अध्ययन अध्यापनका लागि शैक्षिक कार्यक्रम सञ्चलन गर्न काउन्सिलको स्वीकृति÷अनुमति अनिवार्य आवश्यक पर्छ । प्राडा गोविन्द केसीले आफ्नो पटकपटकका अनशनमा उठान गर्नुभएको प्रमुख मागमा प्रतिष्ठानमा एमडिजिपी, एमबिबिएस र एमडी कक्षा सञ्चालनको पूर्वाधार तयार गर्दै अध्यापन शुरु गर्नुपर्नेसमेत रहेको थियो ।