जनता टाइम्स

६ असार २०७६, शुक्रबार १२:४३

पत्रकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सरकारलाई हस्ताक्षर बुझाए


भक्तपुर, असार ६

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरले प्रेस स्वतन्त्रताको पक्षमा गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सरकारलाई बुझाएको छ । महासङ्घले सङ्कलित पत्रकारहरुको हस्ताक्षर आज नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले भक्तपुरका सहायक प्रजिअ दिलीपकुमार लामिछानेमार्फत सरकारलाई बुझाएको हो ।

सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासङ्घले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत हस्ताक्षर बुझाएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । सहायक प्रजिअ लामिछानेले गृहमन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा उक्त हस्ताक्षर बुझाइने जानकारी दिनुभयो ।