जनता टाइम्स

२८ जेष्ठ २०७८, शुक्रबार १८:१२

मनोरञ्जन क्षेत्रमा कार्यरतहरु आर्थिक समस्यामा, सहयोग गर्दै विश्वास नेपाल


काठमाडों, जेठ २८

डेढ महिनादेखि जारी निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरु आर्थिक समस्यामा परेका छन्म । मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत) मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आयोजित कार्यक्रममा कारोनाको दोस्रो भेरियन्टका कारण जारी निषेधाज्ञामा २५ जना श्रमिकले रोजगारी गुमाएर खान, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको बताइएको हो ।

संस्थाका अनुसार यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तिमा पाँचजनाको परिवार चलेको हुन्छ, करिब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महिनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकहरुले आत्महत्या गरेको जानकारी दिनुभयो ।

गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका २९९ जनाले आत्महत्या गरेका थिए । विश्वास नेपालले ‘हाम्रो सम्मान’ परियोजना अन्तर्गत यस क्षेत्रका श्रमिकका हक, अधिकार, काम कर्तव्यका बारेमा जानकारी दिनुको साथै समस्यामा परेका श्रमिकलाई विविध सहयोग गर्दै आएको छ । विश्वास नेपालद्धारा आज आयोजित भर्चुअल कार्यक्रममा परियोजना संयोजक बिवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

उहाँले यस क्षेत्रमा रोजगारी गुमाउँदा श्रमिकले बस्ने कोठाबाट निकालिनुपर्ने, खाद्यान्न अभावलगायतका समस्याले मानसिक समस्या झेलिरहेको समेत बताउनुभयो । त्यसैगरी संस्थाका पैरवीकर्ता रसना ढकालले जुनसुकै क्षेत्रको रोजगारी आफैंमा नराम्रो हुन्न, तर मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकोले यसमा कार्यरत श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रको रिपोर्टिङ समेत वास्तविक घटनामा आधारित नभई त्यहाँ कार्यरत श्रमिकलाई आछेप लाग्ने खालको हुने बताउनुभयो ।

रोजगारी, व्यवसायमा स्वस्थ प्रतिस्पर्धा, श्रमिकको हक अधिकार तथा जिम्मेवारी पूर्ण सेवा प्रवद्र्धनका लागि सञ्चार क्षेत्र, नियम कानुनको कार्यान्वयनको लागि सहकार्य हुनुपर्ने ढकालको भनाई छ । विश्वास नेपालले यस क्षेत्रमा काम गर्ने श्रमिक हाल रोजगारी गुम्दा मनोसामाजिक समस्या, आर्थिक अभावका कारण पारिवारिक कलह जस्ता समस्याले आत्महत्याकोे बाटो रोज्नेगरेको पाइएको छ । संस्थाले श्रमिकहरुलाई मनोसामाजिक परामर्श, खाद्यान्नलगायतका सहयोग उपब्ध गराउँदै आएको छ । साथै आर्थिक उपार्जनको बैकल्पिक स्रोतका लागि क्रिष्टलका माला, झुम्का, चुरा, पोते बनाउनेलगायतका सामग्री बनाउने तालिम प्रदान गर्दै आएको छ ।