काठमाडौं, २९ कार्तिक । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन र षड्यन्त्रअनुसार न्यायालयमा विवाद निम्तिएको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अदालत कब्जा गर्न नसकेपछि प्रपञ्च रचेर (बन्दुक पड्काएर) अहिलेको स्थिति पैदा भएको उहाले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डले वकिलहरुको काँधमा राखेर न्यायालयमा बन्दुक पड्काए । पुष्पकमल दाहालको कब्जामा अदालत थिएन, त्यही भएर उहाँले अहिले अदालतमा बन्दुक पड्काए । नेपाललाई सिक्किम र अफ्गानिस्तान बनाउने योजनामा प्रचण्ड छन् । अब टालटुले नगरौं । कार्पेटमुनिको सबै फोहोर फालौं । नेपाली जनता अब सडकमा आउनुपर्छ । यसको विकल्प छैन ।’
उहाँले नागरिकलाई चाहिने सबैभन्दा महत्वपूर्ण दुई निकायमा अदालत र अस्पताल भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘नागरिकलाई चाहिने यी दुई वटा कुरामा अहिले अदालतमा वितण्डा मच्चाईएको छ । हेर्नुहोस, नागरिक जाने थलो भएकोले अदालतमा गार्ड राखिँदैन् । खुल्ला इजलास हुन्छ। आफ्नो मुद्दा दर्ता गर्न पाउँछ ।
आजमात्रै १५–२० जना मान्छे नेपालका लागि नेपालीहरु सागर खड्काहरु थुनामा राखिएका छन् । प्रहरी प्रशासन लगाएर यातना दिएर पक्राउ गरेको छ । आन्दोलनकारी वकिलहरुको निर्देशनले थुनामा राखिएको छ । यसको म निन्दा गर्दछु ।’ उहाँले न्यायाधीशहरुले बेन्च बहिष्कार गर्नु यो व्यवस्थाको असफलताको पराकाष्ठा भएको पनि दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो , ‘अब नेपाल परिवर्तनको संघारमा पुगेको छ । नक्कली व्यवस्था, नक्कली प्रधानमन्त्री, नक्कली वकिलहरुको विरुद्धमा अब जनता आन्दोलित हुनुपर्छ ।’ उहाँले बरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीशहरुलाइ खुस खुवाएको भनेर सार्वजनिक कार्यक्रममै बोलेको उल्लेख गर्दै प्रश्न समेत गर्नुभयो । ‘शम्भु थापाले को को न्यायाधीशलाई खुस खुवाए ? जम्मै कुरा भन्नुपर्छ । साँचो कुरा गरेको हो भने भन्नुहोस शम्भु थापाजी । दुनो सोझ्याउने काम गर्नु हुँदैन,’ उहाँले भन्नुभयो , ‘प्रधानन्यायाधीशले राजीनामा दिए नेपालको स्वतन्त्र न्यायापालिका सिद्दिन्छ । भूमिगत गिरोहको नियन्त्रणमा अदालत जान्छ। रुलको होईन, हुलको शासन सुरु हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्