जनता टाइम्स

२७ माघ २०८०, शनिबार १७:१८

कञ्चनपुरका दुई पत्रकार प्रहरी नियन्त्रणमा


धनगढी, २७ माघ । कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको हो । विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

भट्टलाई बिहान जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो। तर, प्रहरीले मुद्‍दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।

भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापकको रुपमा काम गर्दै आएका थिए । कुँवर र भट्टले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए ।