काठमाडौं, असोज १०
सरकारले मेडिकल पढिरहेका विद्यार्थीसँग लिएको अवैध रकम फिर्ता गर भनेर मेडिकल कलेजलाई एक महिनाको निर्देशन दिईरहेको छ । तर, बार्षिक डेढ अर्व नाफा कमाईरहेका मेडिकल सञ्चालकले अब भर्ना लिन नसकिने भनेर घुर्कि देखाईरहेका छन् ।
अझ उनिहरुकै कुरा सुन्ने हो भने त अब शिक्षामन्त्री नै फेरिदिने धम्की खुल्ला रुपमा दिन थालेका छन् । विद्यार्थीबाट अवैध रुपमा रकम उठाउन नपाएपछि उनिहरु मन्त्री फेर्ने धम्की दिदै हिड्न थालेका हुन् । त्यस्तै धम्की दिने मध्ये एक हुन, नेपाली कांग्रेसका महासमिति सदस्य एंव नोबेल मेडिकल सञ्चालक सुनिल शर्मा । प्रहरीको फरार सूचिमा रहेका शर्मा राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा सहभागी भएका छन् ।
अन्तर्कृयामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफूहरूले ४९ लाख ९० हजार शुल्क लिएको स्विकारे । तर सँगसगै उहाले धम्की दिदै भन्नुभयो– ‘विश्वविद्यालयका डीनकै सल्लाहमा बिल काटेर लिएका हौं। हामीले गरेअनुसार नभए शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नै हटाइदिन्छौं।’
शिक्षामन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका नोबेलका सञ्चालक शर्मा सीबीआईको ‘अपरेसन क्वाक’ को सूचीमा परेपछि फरारको सूचिमा रहेका छन् । शर्माले विहार इन्टरमिडियट बोर्डबाट ‘प्लस टु’ गरेको नक्कली शैक्षिक प्रमाणपत्र देखाएर एमबीबीएस गरेको पत्ता लागेपछि सीआईबीले ‘क्वाक’ को सूचीमा राखेर ३ असार २०७३ मा पक्राउ गर्ने तयारी गरेको थियो ।
त्यो सुइँको पाएपछि शर्मा जापान भागेका थिए । नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार शर्माले चीनबाट लिएको एमबीबीएसको प्रमाणपत्र पनि नक्कली हो । नोबेल मेडिकल कलेजका शर्मा कांग्रेसको महासमिति सदस्य पनि हुन् ।कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुँदा शर्मालाई एमबीबीएस अध्ययनका लागि नेपाली विद्यार्थी चीन पठाउनेदेखि महासमिति सदस्य बन्नसम्म सहयोग गर्नुभएको थियो । शर्माले नोबेल मेडिकल कलेजको शेयर हत्याउन कलेज सञ्चालक नवराज पाण्डे र ज्ञानेन्द्र गिरीलाई अपहरण गरेकोसम्म आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्