काठमाडौं, २५ चैत । नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७,५२९ जनाको मृत्यु हुने गरेको विज्ञहरुको भनाई छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले शुक्रबार आयोजना गरेको सुर्तीजन्य पदार्थको नियन्त्रण सम्बन्धि सर्वेक्षण २०२४ को सार्वजनिक कार्यक्रममा डा. जय कुमार गुरुङले उक्त जानकारि दिनुभयो । हाल नेपालमा सुर्तीजन्य पदार्थको सेवन कर्ताको संख्या ३४ प्रतिशत रहेको र यो संख्या दिनानुदिन बढ्दै गएको उहाँले बताउनुभयो ।
युवामा हुक्का र ई–सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो रहेको उहाँ बताउँनुहुन्छ । सरकारले सुर्तीजन्य पदार्थमा कर बढाएमा यसको प्रयोग कम हुने डा. गुरुङको भनाई छ । नेपालको कुल राजश्वमा सुर्तीजन्य पदार्थबाट संकलन हुने राजश्वको हिस्सा २.५९ प्रतिशत मात्र छ । दक्षिण एशियाली राष्ट्रहरु मध्ये बंगालदेशको राजश्व संकलन सुर्तीजन्य पदार्थबाट उठ्ने राजश्वको प्रतिशत ९.५३ प्रतिशत रहेको देखिन्छ ।
सोहि तथ्यलाई मध्यनजर गर्दा, नेपालले पनि चुरोटमा कर वृद्धि गरि उल्लेखनीय राजस्व संकलन गर्ने राम्रो अवसर देखिने उहाँले बताउनुभयो । अन्तः शुल्क दरमा भएको वृद्धि ले अन्तः शुल्क संकलनमा सकारात्मक प्रभाव पार्दछ भने वृद्धि नगर्दा राज्यले ठुलो राशी गुमाउनु पर्दछ यसलाई मध्यनजर गर्दै सरकारको ध्यान अन्तः शुल्क वृद्धि तर्फ जान जरुरि देखिने बताउनुभयो । कानूनमा नै ई–सिगरेटलाई निषेध गर्ने तयारी गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तवहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ई–सिगरेट बार्षिक ३२ अर्बको व्यापार हुने गरेको बताउनुभयो । ई–सिगरेटबाट १३ करोड राजस्व सङ्कलन हुने गरेको छ । उहाँले भन्नुभयो,‘ई–सिगरेटको आयात र विक्री गर्न नपाइने गरि, अव हामीले चाँडै नै ई–सिगरेटलाई निषेध गर्न गइरहेका छौ ।’ उहाँले चुरोट र सुर्तीको विक्री वितरणमा होटल र रेष्टुरेन्टमा रोक्नका लागि चुनौतिपूर्ण रहेको समेत बताउनुभयो । मुखमा चपाउने खालको सुर्तिजन्य पदार्थ बढी प्रयोग भएको नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कमल चौलागाईले जानकारी दिनुभयो ।
अहिले गरिएको अध्ययनमा सुर्तीजन्य पदार्थको प्रयोगकर्ता ३४ प्रतिशत पुगेको उहाँ बताउनुहुन्छ । केन्द्रले १८ वटा जिल्लामा गरिएको अध्ययनमा सुर्तीजन्य पदार्थको प्रयोगकर्ता बढेको पाइएको छ । उक्त अध्ययनमा युवा वर्गमा हुक्का र इ–सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो रहेको छ । यसमा १४ देखि २४ उमेर समूहमा ६.७ प्रतिशत हुक्का ताने गरेको पाईन्छ । आमा–बुवाले पनि सहज रुपमा हुक्का तान्न अनुमति दिने गरेको पाइएको उहाँ बताउँनुहुन्छ ।
उक्त अध्ययन अनुसार विगत २ बर्षमा सुर्तिजन्य पदार्थ छोडन ५२ प्रतिशतले प्रयास गरेका थिए जसमध्य २ प्रतिशत मात्र सफल भएका छन् । नेपालमा सुर्तीजन्य पदार्थको खुद्रा मुल्यमा ४१ प्रतिशत मात्र कर लगाइएको छ, जुन दक्षिण एशियाली राष्ट्रहरुमा सर्वाधिक बिक्रि हुने ब्राण्डको खुद्रा मुल्यमा लाग्ने कर दरको तुलनामा ज्यादै कम भएको उहाँ बताउनुहुन्छ ।
एकातिर नेपालीको औसत आय बृद्धि भैरहेको छ भने अर्कोतिर सुर्तीजन्य पदार्थको कर दर कम भएकोले यसको उपभोगमा कमि ल्याउन नसकिएको उहाँले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले सूर्तीजन्य पदार्थको विक्री वितरणमा पत्रकारले कलम चलाउने बताउनुभयो । अध्ययनमा एक व्यक्तिले प्रतिदिन रु ८५.६८ चुरोटमा खर्च गर्ने गरेको उल्लेख छ । सर्वेक्षणमा सहभागी सूर्तीजन्य पदार्थ सेवन गर्नेमध्येकै ५६ प्रतिशतले सूर्तीजन्य पदार्थमा करवृद्धि गर्न माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्