जनता टाइम्स

२८ असार २०८१, शुक्रबार ०१:२०

रेल दुर्घटनामा परी ज्यान गुमाएका वलीका परिवारलाई प्रवासी नेपाली मञ्चले उपलब्ध गरायो २ लाख सहयोग


काठमाडौं, असार २८ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले रोजगारीको सिलसिलामा रेल दुर्घटनामा परी ज्यान गुमाएका सल्यान कालिमाटीका मेघराज वलीको परिवारलाइ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मञ्चले सल्यानस्थित घरमै वलीका परिवारलाई २ लाख रुपैया आर्थिक सहायता उपलब्ध गराएको हो ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले मलेसियामा घोषणा गर्नुभएअनुसार यही असार २७ गते बिहीवार सो रकम वलीका घरपरिवारलाई हस्तान्तरण गरिएको हो । कालिमाटी गाउँपालिका वडा नम्बर २ स्थित मृतक मेघराजको घरमा पुगेर नेकपा एमाले सल्यानले प्रवासी नेपाली मञ्चले उपलब्ध गराएको आर्थिक सहायता रकम हस्तान्तरण गरेको थियो ।

नेकपा एमाले सल्यानका अध्यक्ष भीम बहादुर सेन, उपाध्यक्ष ओजबहादुर बुढाथोकी, उपसचिव सनसिल्ता वली डिसी, एमाले कालिमाटी गाउँपालिकाका अध्यक्ष केशर बुढालगायतका नेताहरु वलीको घरमा पुगेर उहाँकी श्रीमती सविता वलीलाइ दुई लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

बैदेशिक रोजगारिको शिसलसिलामा मलेसियामा रहनुभएका वली गत २०८० माघ २७ गते प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन राजधानी क्वालालम्पुर जाने क्रममा वली रेल दुर्घटनामा पर्नुभएको थियो । दुर्घटना परी उहाँको घटनास्थलमै मृत्यू भएको थियो ।

मलेसियामा संकलित रकम एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अध्यक्ष भक्तबहादुर रावत र प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटीका सचिवालय सदस्य विमला भण्डारीले एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष सेनलाइ काठमाडौंमा उपलब्ध गराउनु भएको थियो ।

पछिल्लो समय प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले बिदेसी भूमिमा समस्यामा परेको नेपालीलाई सहयोग र ज्यान गुमाउनेका परिवारलाई सक्दो सहयोग गर्ने नीति लिएको छ । सोही क्रममा अध्यक्ष थापाले मृतकका परिवारका लागि २ लाख रुपैया आर्थिक साहायता प्रदान गर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुसार रकम हस्तान्तरण गरिएको प्रवासी नेपाली मञ्चले जनाएको छ । मञ्चको मलेसियामा सम्पन्न केन्द्रीय कमिटीको भौतिक बैठकले श्रमिकका लागि बिशेष अभियान सञ्चालन गर्ने निर्णयसहित कल्याण कोष स्थापना गरेको थियो ।

यसैबीच प्रवासी नेपाली मञ्च मलेसियाले पनि रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली कामदारलाई सहयोग गर्नुका साथै ज्यान गुमाउनेको परिवारलाई आर्थिक साहायता प्रदान गर्दै आएको छ । अध्यक्ष दयाराम कुमालले कार्यभार सम्हालेलगत्तै समस्यामा परेका नेपाली कामदारको हितमा सहयोग गर्ने घोषणासहित सञ्चालन गर्दै आउनु भएको छ ।