जनता टाइम्स

८ कार्तिक २०८१, बिहीबार १०:५२

देखिन थाल्यो प्रधानमन्त्री ओलीको कामको परिणाम : अव पाइपलाइनबाटै पेट्रोल आयात, वार्षिक ७० करोड रकम बचत


काठमाडौं, कात्तिक ८ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट पेट्रोल ल्याइएको छ । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा परीक्षणका लागि पेट्रोल पनि ल्याएको हो ।

नेपाल आयल निगमले अब मल्टी प्रोडक्ट पाइप लाइनमार्फत डिजेल, पेट्रोल र मटितेल ल्याउन लागेको हो । निगमका अमलेखगन्ज कार्यालयले दिएको जानकारीअनुसार पहिलो चरणमा परीक्षणका लागि पाँच हजार पाँच सय किलोलिटर पेट्रोल ल्याइएको छ । परीक्षणको क्रममा पहिलो पटक असोज १८ गते पेट्रोल नेपाल आइपुगेको सो कार्यालयले जनाएको छ ।

निगमका अनुसार हाल बरौनीबाट ट्याङ्करमार्फत अमलेखगन्जसम्म पेट्रोल ल्याउने गरेकोमा अब भने पाइप लाइनबाट आयात हुनेछ । सो कामका लागि अहिले पाइप लाइनबाट पेट्रोल आयात गरी परीक्षण गरिरहेको निगम अमलेखगन्ज कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । कार्यालय प्रमुख आचार्यका अनुसार परीक्षण सकेर एक महिनापछि नियमित रूपमा पेट्रोल ल्याउने तयारी गरिएको छ ।

हाल पाइप लाइनबाट डिजेल मात्र आयात गरिएकोमा अब पेट्रोल पनि नियमित रूपमा ल्याउन सुरुवात गरिएको कार्यालयले जनाएको छ । पाइप लाइनबाट डिजेल ल्याएपछि बिचमा पाइप लाइन कम्प्याट्रियल केरोसेन (पिसिके) मिसाएर पेट्रोल ल्याइनेछ । पिसिके उच्च गुणस्तरको इन्धन भएकाले डिजेल पेट्रोल दुवैमा मिसाउन मिल्ने निगमले जनाएको छ । पेट्रोल र डिजेल पाइप लाइनमार्फत ल्याउँदा बिचमा पिसिके मिसाएर आयात गरिने छ ।

पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटरमा एक रुपैयाँ ५० पैसा ढुवानी रकम बचत हुने निगमले जनाएको छ । हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्करबाट आयात भइरहेको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँच देखि छ करोड रुपैयाँ र वार्षिक रूपमा ६० देखि ७० करोड रुपैयाँ ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।\

हाल ट्याङ्करबाट तेल ल्याउँदा ढुवानी रकम खर्च हुने गरेको छ । पाइप लाइनबाट दैनिक छ हजार किलोलिटरदेखि छ हजार पाँच सय किलोलिटर इन्धन ढुवानी गर्ने क्षमता रहेको छ । अव भने पाइप लाइनबाट आवश्यकता अनुसार पेट्रोल ल्याउन सकिने निगमले जनाएको छ ।

अमलेखगन्ज कार्यालयबाट अहिले दैनिक चार सयदेखि छ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको छ । हाल मुलुकभर दैनिक दुई हजार हजार किलोलिटर (बिस लाख लिटर) पेट्रोल खपत भइरहेकोमा पाइप लाइनबाट ७० प्रतिशत आयात गर्ने लक्ष्य राखिएको छ ।

निगमका अनुसार हाल दैनिक मुलुकभर पाँच हजार किलोलिटर डिजेल खपत हुने गरेकोमा ७० प्रतिशत डिजेल पाइप लाइनबाट आयात भइरहेको छ । पाइप लाइनबाट डिजेल ढुवानी गर्दा प्रतिलिटरमा एक रुपियाँ ५० पैसा ढुवानी रकम बचत हुने गरेकोमा वार्षिक डेढ अर्ब ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।

पाइप लाइनबाट ल्याएको पेट्रोल निगमको अमलेखगन्ज कार्यालयमा भण्डारण गरिन्छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) को सहयोगमा अमलेखगन्जमा आठ हजार दुई सय किलोलिटर क्षमताको पेट्रोलको भण्डारगृह तयार भएको छ । सोही भण्डारगृहमा जम्मा भएको पेट्रोल अमलेखगन्ज कार्यालयबाट थानकोट, विराटनगर, भैरहवा, पोखरामा पेट्रोल वितरण गर्ने निगमको योजना छ । निगमले आफ्नै स्रोतबाट निर्माण गरेको १० हजार किलोलिटर क्षमताको भण्डारण गृह पनि निर्माणको अन्तिम चरणमा रहेको छ ।

अमलेखगन्ज कार्यालयमा अब पेट्रोल भण्डारण क्षमता १६ हजार किलोलिटर र डिजेल २४ हजार किलोलिटर पुगेको छ । पेट्रोलियम पाइप लाइन परियोजनाको दोस्रो चरणको काम अनुसार डिजेल/पेट्रोलको नयाँ भण्डारणगृह निर्माण भएको हो ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पहिलो चरणको अन्तरदेशीय पहिलो पेट्रोलियम पाइप लाइन मोतीहारी–अमलेखगन्ज, रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना २०७५ सालमा सम्पन्न भई २०७६ भदौदेखि नियमित रूपमा डिजेल आयात भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको पालामा सो आयोजना सुरु भइ सम्पन्न भएको थियो । सो आयोजना प्रधानमन्त्री अ‍ोलीको ड्रिम परियोजना मानिन्छ । उहाँकै बिशेष पहलकमदीमा ३० महिनामा सम्पन्न गर्ने गरी अघि बढाइएको काम १५ महिनामै सकिएको थियो ।