काठमाडौं, बैशाख १५ । सत्तारुढ दल नेकपा एमालेले वडा तहमा ४० वर्ष मुनीका युवाहरूको रोष्टर तयार पार्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आइतवार बसेको केन्द्रीय संगठन विभागको २२ औं बैठकले यस्तो निर्देशन दिएको हो ।
संगठन बिभाग प्रमुख काशीनाथ अधिकारीले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार बैठकले वडा तहका कमिटीहरूलाई आफ्नो गाउँ–ठाउँ र वडामा रहेका ४० वर्ष मुनीका युवाको सूची तयार पारी विवरणसहित पठाउन निर्देशन दिइएको छ ।
एमालेले पछिल्लो समय ४० वर्ष मुनीका युवामा पार्टीको आकर्षण बढाउन नसकिएको निष्कर्ष निकालेको छ । यस्तै बैठकले जेन–जीलगायत युवा पुस्ता एमालेबाट टाढिँदै गएको निष्कर्ष पनि निकालेको छ । युवालाई आकर्षित गर्नका लागि १९औं लोकतन्त्र दिवसको दिन बैशाख ११ गते एमालेले काठमाडौंमा ‘युथ सेलिब्रेसन’ गरेको थियो । सो कार्यक्रममा युवाको उपस्थिति राम्रो देखिएकोले एमालेले अव युवालाई आकर्षण गर्ने नीतिसहित रोष्टर बनाउन भनेको हो ।
यद्यपी युथ सेलिब्रेसनमा युवाको सहभागिता अपेक्षित नरहेको एमालेको ठहर छ । एमाले केन्द्रीय कमिटीले ४० वर्ष मुनीका युवामा पहुँच बढाउन र युवा नेतृत्व विकासको योजनाबद्ध थालनी गर्न भन्दै मातहतका कमिटीलाई निर्देशन दिएको थियो । त्यसमा कति प्रगति भयो भन्दै अद्यावधिक विवरण पठाउन निर्देशन दिएको हो । निर्देशनमा प्रत्येक वडा कमिटीले ४० वर्ष मुनीका युवाको रोष्टर अनिवार्यरूपमा तयार पार्न भनिएको छ ।
यसैगरी रोजगारी तथा अध्ययनका सिलसिलामा विदेश गएका युवाको नाम, ठेगाना सहितको विवरण संकलन गर्न पनि एमालेले निर्देशन दिएको छ । एमाले केन्द्रीय कमिटीले माघ, फागुन र चैत महिना वडाकेन्द्रीत पार्टी निर्माणको अभियान (जरा अभियान) सञ्चालन गरेको थियो । त्यही अभियानमा यी कामहरू गर्न निर्देशन दिएको थियो । संगठन विभागले २०८२ को पार्टी सदस्यताको अद्यावधिक विवरण वैशाख मसान्तसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिएको छ भने पार्टी सदस्यहरूको अनलाइन अभिलेखीकरणको काम जेठ महिनाभर अभियानकै रूपमा सञ्चालन गर्न निर्देशित गरेको छ ।
एमालेले साढे पाँच लाख सदस्यता रहेको बताएको छ । गत वर्ष ७० प्रतिशत हाराहारी मात्रै नवीकरण भएको थियो । यसपटक सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने निर्णय पनि गरेको छ । यस्तै एमालेले तीन महिने ‘जरा अभियान’ को विस्तृत प्रतिवेदन पठाउन पनि निर्देशन दिएको छ । जसमा पार्टी सदस्यतासम्बन्धि कामको विस्तृत प्रतिवेदन (नवीकरण, नयाँ सदस्यता विस्तार, अनलाइन अभिलेखीकरण, प्रशिक्षण र परिचालन) के कति सम्पन्न भएका छन आँकडामै उल्लेख गर्न भनेको छ ।
एमालेले पालिका, वडा र टोल तह सम्मका पार्टी कमिटीका अधिवेशनहरू के कति सम्पन्न भए ? टोलमा पार्टी कमिटीहरू कति बने ? टोल कमिटी कति नियमित परिचालित भएका छन ? संगठनात्मक अराजकता र अवसरवादलाई परास्त गर्ने गरी कुनै शुद्धीकरणका काम पनि भए कि भएनन भन्ने बिषयहरू समावेश गर्न निर्देशन दिएको छ । यस्तै कार्यकर्ता प्रशिक्षण कुन स्तरमा कति सम्पन्न भए ? कति कार्यकर्ता सहभागी भए ? कार्यकर्तामा आत्मविश्वास जगाएर पार्टीलाई घर-घर पुर्याउने र जनतामा आशा जगाउने काम भएका छन कि सकेनन ? भन्ने बिषयसमेत प्रतिवेदनमा उल्लेख गर्न निर्देशन दिएको छ ।
एमालेले जनताका माग, मुद्दा तथा समस्या समाधानमा अग्रसरता लिने र आर्थिक-सामाजिक तथा सांस्कृतिक रूपान्तरणलाई तिव्रता दिने सवालमा कति काम भयो ? यी कुरालाई पनि उल्लेख गर्न निर्देशन दिएको छ । यस्तै जरा अभियानका क्रममा जनतासँग जनसंगठन अभियान कसरी अघि बढ्यो ? वडासम्म जनसंगठनका कमिटी निर्माण, सदस्यता विस्तार, प्रशिक्षण र सम्बन्धित समुदायका समस्या समाधानमा कति प्रगति भयो ? भनेर आँकडामै उल्लेख गर्न निर्देशन दिएको छ ।
‘पार्टीको नीति र नेतृत्वमाथि भइरहेको प्रायोजित मिथ्या प्रचारको (साइबर हमला) को प्रतिवाद गर्ने काम कति प्रभावकारी ढंगले अघि बढ्यो? तीन महिनाअघि र अहिले कति फरक परेको छ ? आँकडामै प्रस्तुत गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
अधिकांश तल्ला कमिटीले कामभन्दा कागजमा कमिटी सिमित गरेको सूचनापछि एमालेले यस्तो आँकडा मागेको हो । यस्तै पार्टी कार्यालयहरू कति व्यवस्थित भए ? पालिका र वडा तहसम्म कति नयाँ कार्यालयहरू खुले ? कार्यालयहरू नियमित सञ्चालनमा छन कि छैनन ? आदि बिषय पनि प्रतिवेदनमा उल्लेख गर्न भनेको छ । एमाले केन्द्रीय कमिटीले अन्तविरोधहरूको समाधान गरी आन्तरिक एकता कसिलो बनाउन पनि निर्देशन दिएको थियो । त्यस काममा कति प्रगति भयो, कतिवटा कमिटीको समस्या समाधान गरियो भनेर पनि सोधेको छ ।
यसैगरी निर्देशनमा यसबीचमा पार्टीको नीति र नेतृत्वमाथि प्रायोजित मिथ्या प्रचार भइरहेको भन्दै साइबर हमलालाई कडाइका साथ परास्त गर्न भनेको छ । सो काममा पनि कति प्रगति भयो भनेर सोधिएको छ । ‘पार्टीको नीति र नेतृत्वमाथि भइरहेको प्रायोजित मिथ्या प्रचारको (साइबर हमला) को प्रतिवाद गर्ने काम कति प्रभावकारी ढंगले अघि बढ्यो? तीन महिनाअघि र अहिले कति फरक परेको छ ? आँकडामै प्रस्तुत गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
एमालेले यो निर्देशनसहित बिधान संशोधनका लागि सुझावसमेत मागेको छ । एमाले केन्द्रीय सचिवालयले आगामी भदौ २० देखि २२ गते सम्म ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । एमालेले यसअघि २०७८ असोजमा पहिलो विधान महाधिवेशन आयोजना गरेको थियो । दोस्रो विधान महाधिवेशनका लागि २०८२ जेठ मसान्तसम्म केन्द्रीय सचिवालयमार्फत् मातहत पार्टी कमिटी र पार्टी सदस्यहरूबाट सुझाव संकलन गर्ने निर्णय भएको छ । त्यसका लागि आवश्यक सुझाव दिन पार्टी कमिटीलाई निर्देशन पनि दिएको छ ।
पार्टी कमिटी र सदस्यहरूले सम्बन्धित पार्टी कमिटीमार्फत आफ्ना सुझाव दिन सक्नेछन । एमालेको सचिवालय बैठकले विधान महाधिवेशनको मिति तोकेसँगै पार्टीको संगठन विभागले सबै कमिटीहरुलाई विधान महाधिवेशनमा समेट्नु पर्ने विषय पठाउन परिपत्र गरेको छ । संगठन विभागका सचिव माधव ढुंगेलले जारी गरेको परिपत्रमा पार्टीका सबै कमिटी र कार्यकर्ताबाट पाटीले लिनुपर्ने नीति र विधिका बारेमा राय सुझाव संकलन गर्न निर्देशन दिइएको छ ।
आगामी जेठ मसान्तसम्म सुझाव संकलन गरेर पार्टी केन्द्रमा पठाउन सर्कूलर जारी भएको हो । पार्टी कमिटी र सदस्यले सुझाव दिन सक्ने बताइएको छ । एमाले विधानअनुसार ५ वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । विधान अनुसार एमालेले आगामी २०८३ मङ्सिर दोस्रो साता ११ औँ महाधिवेशन गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्