जनता टाइम्स

१७ बैशाख २०८२, बुधबार १६:०३

उपमेयर सुनिता डंगोल पनि काठमाडौं भ्यूटावर भत्काउने अडानमा, छायाँ सेन्टर र हिल्टन होटलमाथि पनि छानविन गर्ने उदघोष


काठमाडौं, बैशाख १७ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल काठमाडौं भ्युटावर भत्काउनुपर्ने पक्षमा अडान राख्नुभएको छ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर भत्काइदिने योजना बनाइरहेको बेला उपमेयर सुनिता पनि भत्काउने पर्ने पक्षमा उभिनुभएको हो ।

मेयर बालेन्द्रले भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर पनि भत्काउने पक्षमा देखिएनु भएको छ । पत्रकारहरूसँगको भेटघाटमा उपमेयर डंगोलले काठमाडौं भ्यूटावर औचित्यहीन रहेको बताउनु भयो । डंगोलले महानगरको विवादको इपिसेन्टर बनिरहेको पुरानो बसपार्कको भ्युटावर अनावश्यक भएको अडान पनि राख्नुभयो ।

भ्युटावरको अनुमति के प्रयोजन र कुन उद्देश्यका लागि लिइएको हो ? त्यसैका लागि प्रयोग हुनुपर्ने भन्दै उपमेयर डंगोलले जनतालाई ढाँट्न नहुने स्पष्ट पार्नुभएको छ । सटर बनाएर महानगरले व्यापार गर्न जरुरी नभएको उनको भनाइ छ । उहाँले बिल्डिङ र सटर बनाएर महानगरले जनतासँग व्यापार गर्नु जरुरी नभएको बताउनु भयो ।

‘जहिले पनि म पिपुल्स फस्टको पक्षमा हो । जनतासँग जे गर्छु भनेर लिइएको हो, त्यसैमा प्रयोग हुनुपर्छ । मेरो स्पष्ट मान्यता छ । हिजोका मान्छे छैनन् भन्दैमा आजको पुस्तालाई थाहा छैन भनेर ढाँट्न पाइँदैन,’ उपमेयर डंगोलले भन्नुभयो ।

उहाँले महानगरमा ऐतिहासिक, पुरातात्विक सम्पदा मासेर बनाइएका अन्य संरचनाको समेत अध्ययन हुनुपर्ने बताउनु भयो । उहाँले ठमेलको छाँया सेन्टर पनि अध्ययन गरेर निर्णय लिन आवश्यक रहेको बताउनु भयो । होटल हिल्टनको विषयमा पनि अध्ययन गरिने उपमेयर डंगोलले प्रष्ट पार्नुभयो ।

‘मुद्दा चलिरहेको बेला मैले बोलिरहन त मिल्दैन । तर, मेरो व्यक्तिगत विचार भनेको पोखरीमा बनेको त्यो संरचना भत्काएर पोखरीलाई जीवन्त दिइनुपर्छ,’ उपमेयर डंगोलले भन्नुभयो । सम्पदा संरक्षणको कुरा मात्रै नभएर अब सम्पदालाई मास्दै जान नहुने उहाँको भनाई छ ।

‘अहिले बनाउँदा यति खर्च भयो उति खर्च लागो भनिएला । तर, हाम्रा सम्पदा जोगाइराख्न सके सयौं वर्ष जीवन्त राख्न सक्छौं । त्योभन्दा ठूलो सम्पत्ति केही हुन्न । त्यहाँ पुरानै अवस्थामा फर्काउन सकेको दिनमात्र सम्पदा संरक्षणमा लागिरहनुभएकाहरूले न्याय पाउनु हुनेछ,’ डंगोलले भन्नुभयो ।