जनता टाइम्स

२५ बैशाख २०८२, बिहीबार ०९:५८

१४ सदस्य गुमाएका पाकिस्तानी आतंकवादीले भने, ‘न मलाई पछुतो छ, न निराश नै छु’


इस्लामबाद, २५ वैशाख । जैश ए मोहम्मदका प्रमुख र घोषित अन्तर्राष्ट्रिय आतंकवादी मौलाना मसूद अजहरले ‘अपरेशन सिन्दुर’को हमलाका बारेमा मुख खोलेका छन् ।

काश्मीरको पहलगाम आतंकवादी हमलाको बदला लिन भारतले ‘अपरेशन सिन्दूर’अन्तर्गत गरेको लक्षित हवाई हमलामा आफ्नो परिवारका १० सदस्य र उनका चार सहयोगी मारिएपछि उनले मुख खोलेका हुन् ।

बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहमा जैश ए मोहम्मदको मुख्यालयमा भएको आक्रमणमा मारिनेहरूमा उनको जेठी बहिनी, बहिनीका पति, एक भतिजा र उनकी श्रीमती, एक भान्जी र परिवारका पाँच छोरा छोरीहरू समावेश थिए भनेर अजहरले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मे ७ को रातमा भारतले गरेको ‘अपरेशन सिन्दूर’पछि परिवारका १४ सदस्य गुमाएका अजहरले आफूलाई कुनै पछुतो र निराशा पनि नरहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन । उनले भने, ‘बरु मेरो मनमा बारम्बार यही विचार आउँछ कि म पनि चौध सदस्यको यो खुसी कारवाँमा म किन सामेल हुन सकिन,’ अन्तर्राष्ट्रिय आतंकवादीले भने, ‘उनीहरूको जाने समय आएको थियो, जानु भयो तर भगवानले उनीहरूलाई कहिल्यै मार्नु हुन्न ।’ उनले यो भने कि मारिएकाहरू अल्लाहका पाहुना बनेका छन् ।

५६ वर्षीय मसूद अजहर संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा रहेका छन् । भारतमा धेरै आतंकवादी हमलाको योजनामा ​​संलग्न रहेको उनीमाथि आरोप छ ।

जसमा मुख्यतया २००१ को भारतको संसदमा हमला, २००८ को मुम्बई हमला, २०१६ को पठानकोट हमला र २०१९ को पुलवामा हमलालगायतमा उनको सहभागिगता रहेको जनाउँदै आइएको छ । यी अन्तर्राष्ट्रिय आतंकवादी पाकिस्तानमा रहेको कुरा ‘ओपन सेक्रेट’ भए पनि इस्लामाबादले बारम्बार उनीबारे कुनै जानकारी नभएको कुरा अस्वीकार गर्दै आएको थियो ।

‘आज राति, मेरो परिवारका दस सदस्यहरूसँगै यो खुशीको साथमा आशिष् पाएका छन् । यसमा पाँच निर्दोष बच्चाहरू, मेरी जेठी बहिनी, उनको आदरणीय पति, मेरो विद्वान भतिजा र उनी पत्नी र मेरो प्यारो विद्वान भाञ्जी, मेरो प्यारो भाइ हुजैफा र उनकी आमा, दुई अन्य प्रिय साथीहरूले सहादात प्राप्त गरेका छन्, उनीहरूलाइ अल्लाहले बोलाउनु भएको छ,’ उनले भने ।