जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार १७:११

अर्थतन्त्र लयमा आयो, अब अर्थतन्त्रको गाडी त्रिसुलीमा खस्दैन : प्रधानमन्त्री 


काठमाडौं । बैशाख ३० गते

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ओरालो लागेको अर्थतन्त्र बिस्तारै माथि उठ्न लागेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक इनडोर चलचित्र छायाङ्कन स्टुडियोको मंगलबार आरम्भ उद्घोष (शिलान्यास) गर्दै उहाँले अब देशमा विकासको कामलाई गति दिनु पर्ने बताउनुभयो । ओलीले अर्थतन्त्र अब लयमा आएको बताउनुभयो । ‘ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन, हामी सिने क्षेत्रप्रति सधैँ सकारात्मक र सहयोगी छौँ’, उहाँले भन्नुभयो ।

ओलीले अत्याधुनिक इण्डोर छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति नै भएको बताउनुभयो । नेपाली चलचित्र क्षेत्रले ६ दशकदेखि आवाज उठाएको स्टुडियो अब बन्ने प्रक्रिया अघि बढेको बताउनुभयो ।

आफ्नो पहिलो कार्यकालमा सो स्टुडियो बनाउने निर्णय भएको भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम हुन नसकेको उहाँले बताउनुभयो  । ‘त्यस बेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौँ, यसको लागि बजेट विनियोजन हुन्छ’,उहाँले भन्नुभयो ।

बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा उहाँले सञ्चार मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउनुभयो । ओलीले हप्ता–१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिनुभयो ।

कतिपयले राजनीतिमा पनि अभिनय गर्न थालेका बताउँदै ओलीले  आफूले राजनीतिलाई यथार्थमा बदल्ने साधनका रूपमा लिएर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटा, वाग्मती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी हुनुन्थ्यो ।

४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियोमा अत्याधुनिक सुविधासम्पन्न इनडोर छायाङ्कन स्थल हुनेछ ।