जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार १७:५१

आर्थिक अनियमिततामा देखियो बालेनको किर्तिमान, पालना गरेकै रहेनछन कुनै पनि कानून


काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले अनियमितता र बेथितीमा पनि किर्तिमान कायम राखेको तथ्य उजागर भएको छ । महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरको खर्च बेलगाम बनेको तथ्यसहित बालेनको बदमासीलाई उजागर गरेको हो ।

महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा बालने प्रमुख रहेको काठमाडौं महानगरको खर्चमा निकै धेरै मात्रामा अनियमितता देखिएको छ । महालेखाको प्रतिवेदनअनुसार बालेनसहित महानगरका कर्मचारीहरूले विदेश भ्रमणमा गरेको खर्च रकम नियमसम्मत नभएको देखिएको छ । महालेखाले आफ्नो प्रतिवेदनमा महानगरको वैदेशिक भ्रमणमा भएको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमित देखिएको हो ।

महालेखाका अनुसार नफ्रान्सको पेरिसमा बालेनले गरेको भ्रमण खर्च, ब्राजिलमा गरिएको खर्च, भारत, बंगलादेशलगायतमा गरिएको खर्चमा चरम अनियमितता गरिएको पाइएको छ । बालेनले विदेश भ्रमणमा जाँदा अनुमतिसमेत नलिएको तथ्य महालेखाको प्रतिवेदनले खोलेको छ ।

 

नेपाल सरकारको कानूनअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट भ्रमणमा संलग्न कर्मचारीको मनोनयन हुनुपर्ने व्यवस्था रहेको छ । तर मेयर बालेनलगायतका महानगरका कर्मचारीहरू भ्रमणमा मनोनयनबेगर नै गएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यसरी गएको भ्रमण र भुक्तानीमा भएको खर्च नियमसम्मत नभएकोसमेत महालेखाले जनाएको छ ।

यस्तै आन्तरिक पर्यटन/भ्रमण कार्यक्रममा पनि बालेनको टीमले अनियमितता गरेको पाइएको छ । बागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ को दफा १२, १३ र १४ मा पदाधिकारी सुविधासम्बन्धी व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनियमिततामा किर्तिमान नै कायम गरेको तथ्य फेला परेको छ । महानगरवासीको हित र कानूनले तोकेभन्दा बाहेकका सवै काम गरेर बालेनले अनियमिततामा किर्तिमान कायम गरेको तथ्य उजागर भएको हो ।

जसअनुसार महानगरपालिकाले सो ऐनले तोकेकोभन्दा बढी सुविधा निर्धारण गर्न नसक्ने तथा ऐनमा भएबाहेकका अन्य सुविधामा प्रदेश सरकारले समयसमयमा निर्धारण गरेबमोजिम हुने उल्लेख छ । तर काठमाडौं महानगरपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धन तथा पुनर्ताजगी गर्ने उद्देश्यले जनप्रतिनिधिका लागि काठमाडौं महानगरपालिका जनप्रतिनिधि आन्तरिक पर्यटन/भ्रमण कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७७ स्वीकृत गरी यस वर्ष ५० लाख बजेट व्यवस्था भएकोमा २६ लाख १४ हजार खर्च गरेको छ ।

महानगरपालिकाले प्रचलित प्रदेश कानूनसँग प्रतिकूल हुने गरी स्थानीय कानून आधारमा पदाधिकारीलाई गरेको उक्त खर्च नियमसम्मत नदेखिएको महालेखाको प्रतिवेदनले औँल्याएको छ । महालेखाका अनुसार बालेनले यसरी अनियमितता गरेको रकम २६ लाख १३ हजार ९८० रुपैयाँ ९६ पैसा रहेको छ । महालेखाले काठमाडौं महानगरको अर्काे खर्चमा पनि अनियमितता नै भएको जनाएको छ । प्रतिवेदनअनुसार महानगरमा कर्मचारी आन्तरिक पर्यटन पुनर्ताजगी कार्यक्रममा १ करोड ६८ लाख ९३ हजार १०५ रुपैयाँ र सामाजिक सुरक्षा कोष कट्टीमा ९७ लाख ११ हजार ५३३ रुपैयाँ अनियमितता छ ।

काठमाडौं महानगरले आकस्मिक तथा भैपरी शीर्षकमा विनियोजित रकमबाट १० लाख मुनीमा ४ वटा सिसिटिभी जडान तथा मर्मत सम्बन्धी योजना बनाई सोझै खरिद विधी अवलम्बन गरी ३४ लाख ९१ हजार ६५५ रुपैयाँ खर्च गरेको छ । बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा कार्यक्रम टुक्रा पारी सोझै खरिद गरेर उक्त रकम अनियमितता गरेको महालेखाको प्रतिवेदनले खुलासा गरेको छ ।

यस्तै महानगरपालिकाले सार्वजनिक खरिद ऐन विपरीत काम गराएर ४४ लाख ८७ हजार ९२८ रुपैयाँ अनियमितता गरेको महालेखाको प्रतिवेदनमा देखिएको छ । महालेखाको प्रतिवेदनअनुसार मुलुकका कुल ६ वटा महानगरमध्ये सबैभन्दा बढी बेरुजु रकम काठमाडौं महानगरपालिकामै देखिएको छ । महालेखाको प्रतिवेदनअनुसार बालेनको महानगरपालिका काठमाडौंमा ६८ करोड २ लाख रुपैया बेरुजु रहेको छ ।