जनता टाइम्स

१९ असार २०८२, बिहीबार ०६:५४

रामेछापमा प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित आठ दिने आवासीय तालिम सम्पन्न


रामेछाप, १९ असार । सेतो गुँरास राष्ट्रिय बालविकास सेवाद्वारा सञ्चालित ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड’ मा आधारित आठ दिने आवासीय तालिम रामेछापमा सम्पन्न भएको छ।

चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग तथा शिक्षा विकास तथा मानव स्रोत केन्द्रसँगको सहकार्यमा सञ्चालित ‘प्रारम्भिक बालविकास सद्भाव निर्माणको उज्ज्वल शुरुवात ’ परियोजनाअन्तर्गतकाे तालिम  मन्थलीमा सञ्चालन भएको हो। सेतो गुँरासले मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको समन्वयमा आयोजना गरेको तालिममा दुई नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयका बालशिक्षकहरूको सहभागिता रहेको थियो।

मन्थली नगरपालिकाबाट विद्याश्रम आधारभूत विद्यालय जखनिटार, बालताम्राकौशिका आधारभूत विद्यालय टेकानपुर, मनकामना माध्यमिक विद्यालय नाटिला, गौरीशङ्कर आधारभूत विद्यालय अर्चले, सेतीदेवी माध्यमिक विद्यालय सालु, आधारभूत विद्यालय सामालिस्थान, सिर्जनात्मक आधारभूत विद्यालय ओडारे, पशुपति आधारभूत विद्यालय भुलभुले, हरिचिण्डे माध्यमिक विद्यालय फुलासी, जगदम्बा आधारभूत विद्यालय चिउरीपानी, नागकन्या माध्यमिक विद्यालय गड्वारी, भैरवी माध्यमिक विद्यालय सुनारपानी र माध्यमिक विद्यालय सिक्राल गरी १३ विद्यालय प्रतिनिधित्व गरेका थिए।

त्यस्तै, रामेछाप नगरपालिकाबाट महेन्द्रज्योती आधारभूत विद्यालय, जलकन्यादेवी आधारभूत विद्यालय, जनकल्याण माध्यमिक विद्यालय र आधारभूत विद्यालय गरी ४ विद्यालयका शिक्षक सहभागी रहेका मन्थली नगरपालिकाका बालविकास संयोजक नवराज विश्वकर्माले जानकारी दिनुभयो।

संयोजक विश्वकर्माका अनुसार तालिममा प्रारम्भिक बालविकासको अवधारणा, यसको सामाजिक तथा शैक्षिक महत्व, लगानी र प्रतिफलका साथै राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका २०६७ र प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम २०७७ का बारेमा जानकारी गराइएको थियो।

तालिममा बालविकास केन्द्रमा आवश्यक शैक्षिक सामग्री निर्माण तथा प्रयोग, सिकाइका कुरा र क्षेत्रबारे जानकारी दिइएकाे थियाे । त्यस्तै दैनिक कार्यतालिकाअनुसार कक्षा सञ्चालन गर्ने तरिका, मूल्याङ्कन र सूचक मापनका विषयमा व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको विश्वकर्माले बताउनुभयाे ।  उहाँका अनुसार नेपाल सरकारले ४८ देखि ६० महिनासम्मका बालबालिकाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले ल्याएको इसिइडी मापदण्ड र पाठ्यक्रम कार्यान्वयन गर्न शिक्षकलाई तयार पार्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो।

तालिमकी प्रमुख प्रशिक्षक रिता श्रेष्ठले सिकेका कुराहरू विद्यालयमा व्यवहारिक रूपमा कार्यान्वयन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयाे ।