रामेछाप, २५ असार । रामेछाप जिल्लामा आयुर्वेदिक सेवा विस्तार गर्ने क्रममा नयाँ संरचनाबाट सेवा सुरु गरिएको छ । नयाँ संरचना निर्माण नभएसम्मका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सेवा मन्थली अस्पतालको पुरानो भवनबाट सुरु गरिएको हो ।
मन्थली अस्पतालको कम्पाउन्डभित्र रहेको उक्त भवनबाट बुधबारदेखि आयुर्वेद सेवा औपचारिक रूपमा सुरु भएको हो । यसले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । एउटै कम्पाउण्डबाट एलोपेथिक तथा आयुर्वेदिक सेवा उपलब्ध गराउन थालिएपछि सेवाग्राहीहरूका लागि सहजता बढ्ने अपेक्षा गरिएको छ।
सेवा शुभारम्भका अवसरमा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले भदौ महिनाभित्र चिकित्सालयलाई इनडोर सेवा सहित पूर्ण रूपमा सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाउनुभयो । उहाँले त्यसका लागि आवश्यक जनशक्ति, उपकरण तथा अन्य संरचनागत आवश्यकताको व्यवस्थापन प्रदेश सरकारले गर्ने बताउनुभयो।
मन्त्री थापा मगरले प्रदेश सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई पूर्ण रूपमा विस्तार गरिरहेको जानकारी दिनुभयो । अब एलोपेथिक र आयुर्वेदिक उपचार पद्धतिलाई सँगसँगै लैजाने उहाँले जानकारी दिनुभयो । ‘चितवन र नुवाकोटमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अस्पतालका रूपमा विकास भइसकेका छन्, हेटौँडामा पनि यही असारभित्र सेवा सञ्चालनको तयारीमा छौँ, रामेछापमा भवन
कार्यक्रममा चिकित्सालयका अध्यक्ष नवराज पथिकले ठाउँको अभावले भौतिक पूर्वाधार निर्माण हुन नसक्दा सेवा प्रभावकारी नभएको बताउनुभयो । उहाँले हाल मन्थली नगरपालिकाको सहयोगमा सेवा सुरु भएको बताउँदै आफ्नै संरचना निर्माणको कामलाई पनि अघि बढाउने जानकारी दिनुभयो ।
अहिले जनशक्ति र उपकरण अभाव रहेकोले सेवा विस्तारमा थप सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । यसको लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेश सभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना खड्का, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, प्रदेश मन्त्रालयका उच्च अधिकारी, स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रमुख, पत्रकार, स्थानीय नागरिक अगुवा तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो।
दुई अस्पतालको समन्वयमा सेवा सुरु भएपछि जनस्वास्थ्यको क्षेत्रमा नयाँ ढोका खुल्ने विश्वास लिइएको छ । स्थानीय सरकार र प्रदेश सरकार बिचको सहकार्यको यो उदाहरण भविष्यमा अन्य सेवा क्षेत्रमा पनि मार्गदर्शक बन्न सक्ने बताइएको छ । हो।
चिकित्सालयमा अहिले ओपिडी, पञ्चकर्म, छारसुत्र, फिजियो थेरापि, अकुपञ्चर, ल्याब, परामर्श तथा आयुर्वेदिक औषधि वितरण लगायतका सेवा सञ्चालन भइरहेका छन् । आगामी चरणमा आन्तरिक सेवा (इनडोर) तथा अन्य विशेषज्ञ सेवा थपिने योजना छ।
रामेछाप जिल्लाले वैकल्पिक चिकित्सा क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ । अहिलेको यो प्रारम्भिक पाइला भविष्यमा एक सुदृढ र समावेशी स्वास्थ्य प्रणाली निर्माणतर्फको सशक्त कदम बन्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्