जनता टाइम्स

१५ श्रावण २०८३, शुक्रबार ०७:४०

देवानगञ्ज घटनामा गृहमन्त्री र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने


काठमाडौं, साउन १५। देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाउनुभएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच विभिन्न माग सम्बोधन गर्ने विषयमा सात बुँदे सहमति भएको छ।

सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाइने सहमति भएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने उल्लेख गरिएको छ।

सहमतिपत्रमा मृतकका प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने व्यवस्था पनि समेटिएको छ। साथै, घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख छ।

यस्तै, मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

सहमतिपत्रमा आज (शुक्रबार) दिउँसो २ बजे मृतकहरूको दाहसंस्कार गर्ने उल्लेख गरिएको छ। ।