काठमाडौं, साउन १५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू संघीयताबिरोधी नभएको भन्दै कसम खानुभएको छ । सुनसरी घटनालाई लिएर देशब्यापी तनाव बढेपछि पहिलो पटक आफ्नो दम्भ र अहंकार त्यागेर संवादमा आउनुभएका प्रधानमन्त्री शाहले शुक्रवार मधेशवादी दलका नेतासँगको छलफलमा ‘कसम से म संघीयता विरोधी हुँदैहोइन, बिरुद्ध जाँदैजान्न’ भन्दै कसम नै खानुभएको हो ।
बालेन सरकारले सामाजिक सदभाव र प्रेमको साटो घृणालाई महत्व दिएको, देशको समस्याभन्दा धेरै टाढा पुगेको र मुलुक डरलाग्दो संकटमा परेको भदै संघीयता खारेजीको बिषय उठान भएपछि प्रधानमन्त्री बालेनले आफ्नो प्रष्टिकरण दिनेक्रममै कसम खानुभएको तथ्य भेटमा सहभागी मधेशी नेताहरूले खोलेका हुन ।
प्रधानमन्त्री शाहसँगको भेटमा मधेशी नेताहरूले सरकारको नियतदेखि रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि उठाएका थिए । सो क्रममा शाहले संघीयताबिरुद्ध जानै नसक्ने तथ्यप्रति आफू प्रष्ट रहेको भन्दै शंका नगर्न आग्रहसहित कसम खानुभएको हो ।
प्रधानमन्त्री शाहसँगको छलफलमा पूर्वमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले रास्वपा महाधिवेशनले सङ्घीयता विरोधी प्रस्ताव पारित गरेको विषय उठाउँदै सरकार के चाहन्छ भन्ने प्रश्न उठाउनु भएको थियो ।

सुनसरी घटना र मधेशमा बलेको आगोलाई सामान्य रुपमा लिएर सरकारले गल्ती गरिरहेको भन्दै सुनसरी घटना स्थानीय र प्रदेश सरकारलाई बाइपास गर्दाको परिणाम रहेको महतोले प्रष्टै तथ्य पनि राखिदिनुभएको थियो ।
महतोले आफूले सङ्घीयताको विषयमा कुरा उठाएपछि प्रधानमन्त्रीले आफूलाई सङ्घीयताविरोधी सपनामा पनि नसोच्न सुझाउनु भएको भेटपछि खुलाउनु भयो । महतोले भेटपछि बाहिरिने क्रममा भन्नुभयो, ‘प्रधानमन्त्रीले संघीयताबिरोधी हुँदै होइन भन्नुभएको छ, कसम ससम पनि खानुभयो ।’

महतोका अनुसार प्रधानमन्त्री शाहको को जवाफ थियो, ‘मलाई सङ्घीयता विरोधी सपनामा पनि नसोच्दिनुहोला । सङ्घीयतालाई बलियो बनाउने हो । महाधिवेशनबाट गलत सन्देश गएको छ, त्यसलाई सुधार्नुपर्छ । त्यसैले सङ्घीयता विरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त सङ्घीयता विरोधी हुने कुरै भएन ।’ प्रधानमन्त्री शाहले सङ्घीयतालाई नै बलियो बनाउने पक्षमा आफू रहेको प्रष्टिकरण पनि दिनुभएको महतोले बताउनु भयो ।
‘सङ्घीयतालाई बलियो बनाउनको लागि कहाँ कहाँ कमी हो त्यो गरिन्छ। प्राप्त अधिकार पनि प्रदेशहरूले प्रयोग गर्नुपर्छ । म मेयर हुँदा सबै अधिकार प्रयोग गरेको गरेकै हुँ,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै महतोले भन्नुभयो । प्रधानमन्त्री शाहले सुनसरी घटना देशभर फैलन थालेको र मधेश प्रदेशको सिरहा, पर्सादेखि जनकपुरसम्म आक्रोश बढेपछि मधेशी नेतासँग पहिलो पटक सम्वाद गर्नुभएको हो ।

सिरहामा प्रहरीको गोली लागेर बिद्यार्थी गणेश योदवको ज्उान गएपछि मधेश प्रदेशमै आतंक फैलन सक्ने अवस्थाप्रति सचेत रहँदै समन्वयकारी र सवैको अस्तित्व स्वीकार गर्ने बाटोमा जानसमेत नेताहरुले प्रधानमन्त्रीलाई सुझाएका छन । प्रधानमन्त्री शाहसँगको छलफलमा महतोसहित महन्थ ठाकुर, समिम मियाँ अन्सारी, डा. सिके राउत, लालबाबु राउत, रामकुमार शर्मा, प्रभु साह, शरतसिंह भण्डारी, अमरेशकुमार सिंह, जयकान्त राउत र प्रधानमन्त्रीका सल्लाहकार असिम शाह सहभागी हुनुहुन्थ्यो ।
आफ्नै पार्टीका सांसद भएपनि शाहले अमरेसलाई मधेशी नेताको हैसियतमा छलफलमा सहभागी गराउनु भएको हो । अमरेश सरकारको कामको कडा आलोचना गर्दै संघीयतामा छेडखानी भए समाप्त पारिदिने सार्वजनिक घोषणा नै गरिसक्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्