काठमाडौं, साउन १५ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक यात्रा दीर्घकालीन नहुने दाबी गर्नुभएको छ।
शुक्रबार नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले ४८औँ पुष्पलाल स्मृति दिवस तथा श्रावण १५ खिर खाने दिवसका अवसरमा आयोजना गरेको ‘संविधानको रक्षा र भावी चुनौती, एकताबद्ध पार्टी निर्माणमा हाम्रो संकल्प’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपाको उदय पपुलिजम, अवसरवाद र अराजकतावादको जगमा भएकाले यस्ता राजनीतिक शक्तिहरू लामो समय टिक्न नसक्ने धारणा व्यक्त गर्नुभएको हो।
एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ, त्यसको पतन पनि उत्तिकै छिटो हुन सक्ने बताउनुभयो। उहाँका अनुसार रास्वपाले नेपाली राजनीतिमा दीर्घकालीन चुनौती सिर्जना गर्ने सम्भावना कम रहेको र त्यसलाई सहज रूपमा सामना गर्न सकिने अवस्था रहेको छ।
महासचिव पोखरेलले रास्वपाजस्ता शक्तिलाई प्रभावकारी रूपमा सामना गर्न एमाले वैचारिक र सांगठनिक रूपमा अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो। उहाँले, “पपुलिजम जसरी रातारात राष्ट्रिय शक्तिका रूपमा उदय भयो, त्यसको जग के हो भन्ने प्रश्न उठ्छ। मेरो बुझाइमा यसको आधार पपुलिजम, अवसरवाद र अराजकतावाद हो। यही आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको छ। तर जुन शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतनको सम्भावना पनि त्यति नै बढी हुन्छ,” भन्नुभयो।
महासचिव पोखरेलले नयाँ पुस्ता र आधारभूत वर्गको विश्वास पुनः जित्न सके मात्र यस्ता राजनीतिक शक्तिको चुनौती प्रभावकारी रूपमा सामना गर्न सकिने उल्लेख गर्दै एमाले त्यसै दिशामा अघि बढिरहेको पनि स्पष्ट पार्नुभयो।
पोखरेलले सामन्तवादी व्यवस्थाले गरिबी सिर्जना गरेको उल्लेख गर्दै एमालेले त्यसलाई घटाउने र जनतालाई गरिबीबाट मुक्त गर्ने काम गरेको दाबी गर्नुभयाे। ‘एमाले गरिब जन्माउने पार्टी होइन, गरिब त सामन्तवादले जन्माएको हो, त्यो गरिबलाई मुक्त गर्ने पार्टी एमाले हो’, उहाँले भन्नुभयाे ।
पोखरेलले संविधानको रक्षा, लोकतान्त्रिक उपलब्धिको संरक्षण तथा पार्टीलाई अझ एकताबद्ध बनाएर आगामी चुनौती सामना गर्नुपर्नेमा जाेड दिनुभयाे ।













प्रतिक्रिया दिनुहोस्