जनता टाइम्स

१५ श्रावण २०८३, शुक्रबार १८:१३

सामाजिक सद्भाव सुदृढ गर्न सरकार योजनाबद्ध रूपमा लागिरहेको छ : प्रधानमन्त्री शाह


काठमाडौं,  साउन  १५ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लामा उत्पन्न तनावपूर्ण अवस्था समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा गर्न र सामाजिक सद्भाव कायम गर्न सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभएको छ ।

सिंहदरबारमा तराई–मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण संयन्त्र उच्च सतर्कताका साथ परिचालन गरिएको बताउनुभयो ।

उहाँले प्रभावित नागरिकसम्म पुग्ने, सुरक्षाको प्रत्याभूति गराउने र घटनाको निष्पक्ष छानबिनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । सीमा नाकामा आवतजावत व्यवस्थित बनाइएको भन्दै शान्ति–सुरक्षा कायम गर्न सरकारले बहुपक्षीय रणनीति अपनाएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री शाहले सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वास तथा सद्भावको पुल बन्न आग्रह गर्नुभयो । संकटका बेला जनताको घरदैलोमा पुगेर उनीहरूको दुःखसुखमा साथ दिनु सांसदहरूको दायित्व भएको उहाँले बताउनुभयो ।

सांसदहरूले पनि तत्काल निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीको राष्ट्रका नाममा गरिएको सम्बोधनले प्रभावित क्षेत्रमा सकारात्मक सन्देश र विश्वास पैदा गरेको बताएका छन् ।

स्थानीयस्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम गर्न दुवै समुदायका नेतृत्व, नागरिक समाज, बुद्धिजीवी तथा राजनीतिक दलबीच संवादलाई निरन्तरता दिनुपर्ने सुझाव सांसदहरूले दिएका छन् । सामाजिक सञ्जालबाट फैलिने भ्रम र अफवाह नियन्त्रण गर्न स्थानीयस्तरमा जनचेतनामूलक अभियान चलाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् ।