जनता टाइम्स

१५ श्रावण २०८३, शुक्रबार १८:२२

तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग बनाउन नेकपाको माग


काठमाडौं,  साउन १५ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई–मधेशमा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार बसेको कार्यसंयोजक समिति बैठकले घटनाको कारण, भएका झडप तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकासमेत छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो ।

नेकपाले सरकारले परिस्थितिको राजनीतिक समाधान खोज्नुभन्दा प्रशासनिक र शक्ति प्रयोगमा बढी जोड दिएको आरोप लगाएको छ । नागरिकसँग प्रत्यक्ष संवाद गर्न, सबै सरोकारवालालाई विश्वासमा लिन तथा समस्याको राजनीतिक र दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

पार्टीले संवेदनशील अवस्थाको उपयोग गर्दै सामाजिक द्वन्द्व फैलाएर संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय तथा संविधानद्वारा सुनिश्चित उपलब्धिलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको निष्कर्षसमेत निकालेको छ ।

विभिन्न समुदायबीच वैमनस्य, घृणा, अविश्वास र तनाव सिर्जना गरी निहित राजनीतिक स्वार्थ पूरा गर्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै नेकपाले विभाजनकारी तथा उत्तेजनात्मक गतिविधि असफल पार्न लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिलाई एकजुट हुन आह्वान गरेको छ ।