जनता टाइम्स

२२ पुष २०७६, मंगलवार १६:१२

स्वास्थ्यमन्त्री ढकालको खुलासा : सरकारी अस्पतालका कर्मचारीकै मिलोमतोमा निजी अस्पताल पठाइन्छ विरामी


काठमाडौं, पुस २२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको तथ्य पाइएको खुलासा गर्नुभएको छ । कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा आज स्वस्थ्यमन्त्री ढकालले यस्तो खुलासा गर्नुभएको हो ।

मन्त्री ढकालका अनुसार सरकारी अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा विरामी नीजि अस्पताल पठाउने गरेको पाइएको हो । नागरिकको आस्थाको केन्द्र अस्पताल भएको प्रसंग उल्लेख गर्दै मन्त्री ढकालले उपचारका लागि सरकारी अस्पतालमा आउने विरामीलाई नीजिमा पठाउने आपराधिक काम भइरहेको आफूले पाएको बताउनु भयो ।

‘धेरै अस्पतालमा विरामीहरु सुरुमा सरकारी अस्पतालमा आउँछन । बिचको अवधिमा काजमा बाहिर जान्छन । फेरी सरकारी अस्पतालमै आउँछन भन्ने कुरा सुनेको छु जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पुर्याएबाफत कमिसन लिन्छन र विरामी त्यही थला पर्छ । अन्तिममा फेरी बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन,’ मन्त्री ढकालले भन्नुभयो ।

उहाँले यस बिषयमा मन्त्रालय निकै गम्भीर बनेको भन्दै सच्चिन निर्देशन पनि दिनुभयो । मन्त्री ढकालले चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गर्न सके मात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने योजना सुनाउनु भयो । निजी क्लिनिकहरुको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको उहाँको निश्कर्ष थियो । स्वास्थ्यमन्त्री ढकालले अव कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल पनि अन्त्य गर्ने अठोट गर्नुभयो ।