जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार १५:१८

रेडक्रसको बदमासीबारे गृहमन्त्रीले खोले यस्तो रहष्य


काठमाडौं, फागुन ८ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल रेडक्रस सोसाइटीलाई कानूनको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो ।

नेपाल रेडक्रसले धेरै अनियमितता गरे पनि कारबाही नभएको भन्दै समितिले कुन कानुन अनुसार हुन्छ त्यसैअनुसार नियमको दायराभित्र ल्याउन गृहलाई निर्देशन दिएको हो । रेडक्रसले जिल्ला प्रशासन कार्यालयलाई थाहा नदिई १६ पटकसम्म विधान संशोधान गरेको, सरकारलाई जानकारी नगराई करोडौं अनुदान लिएको र हालै भक्तपुरमा निर्माण गर्न लागेको गोदामघर निर्माणमा ब्यापक अनियमितता भएको भन्दै संसदीय समितिमा उजुरी परेको थियो ।

समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले रेडक्रसले धेरै अनियमितता गरे पनि कानूनको अभावमा कारबाही गर्न नसकेको बताउनु भयो । कानून अभावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न नमानेको र व्यक्ति नठगिएकाले ठगी मुद्दा लगाउन पनि नसकेको उहाँको भनाई थियो । हाल रेडक्रसको अनियमितताबारे महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।