जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार १२:११

महामारीको बेला पनि कोही भ्रष्टाचारमा संलग्न भएको छ भने सहिन्न : प्रधानमन्त्री ओली (भिडियोसहित)


काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कडा कारबाही गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।
‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्मा आउँछ । आन्तरिक लेखा परीक्षण हुन्छ । अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं । कहीँकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्तो महामारीको बेला पनि कोही भ्रष्टाचारमा संलग्न भएको छ । यस्तो कठिन अवस्थामा पनि अनियमितता भएको छ भने सहिन्न ।’

उहाँले सांसदहरूले कोरोना रोकथाम र नियन्त्रणमा अनियमितता भएको भनेर उठाएका प्रश्नको जवाफ दिँदै त्यसो गरेको पाइएमा सवैमाथि कानुनको कठघरामा उभ्याइने बताउनु भएको हो । केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि जनाउनुभयो ।

‘कतिपयले यसमा अनियमितता भयो भन्ने सुनेका कुराहरूलाई उठाउनुभएको छ । कतिपयले यस्तो भन्ने रुचि पनि राख्नुहुन्छ, जेमा पनि अनियमितता भयो भन्ने र लान्छित गर्ने गर्नुहुन्छ । त्यसमा भर नपर्न आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरू सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ । कठघरामा उभ्याइन्छ । दोषी पाइएमा दण्डित गरिन्छ ।’ उहाँले सरकारले गरेको खर्चको हिसावकिताव आउने बताउनु भयो ।