जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार १७:३०

सरकारी इञ्जिनियरको भ्रष्टाचार कथा : १६ करोड ७२ लाख अकुत सम्पत्ति, १० करोड आफन्तको खातामा


काठमाडौं, भदौ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्तविरुद्ध पौने १७ करोड विगोसहित मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा आफन्तको नाममा सम्पत्ति राखेको पाइएपछि अख्तियारले गुप्ताकी पत्नी र आफन्तलाई पनि प्रतिवादी बनाएको छ ।

अख्तियारले इन्जिनियर गुप्ता र उनकी श्रीमती मीता गुप्ताविरुद्ध १६ करोड ७२ लाख ५६ हजार विगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन (अकुत) गरेको सम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारका अनुसार गुप्ताले एक दर्जन भन्दा बढी आफन्तको नाममा बैंक खाता खोली अकुत सम्पत्ति राखेको पाइएको छ । गुप्ताले आफन्त अन्जु कुमारी महतो, उदित नारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार रुपैयाँ लुकाई छिपाई राखेको प्रमाणित भएको प्रवक्ता अधिकारीले बताउनु भयो ।

२०३८ साल पुस १२ गते ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका गुप्ताले अवकाश पाउने बेला अर्थात २०७६ असार ५ गतेसम्म गैरकानूनी रुपमा १६, करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ ६८ पैसा अकुत सम्पत्ति कमाएको अख्तियारको भनाई छ ।

यस्तो छ अख्तियारको भनाई

संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सि.डि.ई.) काशी प्रसाद गुप्ताले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको हुँदा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्नेसमेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज काशी प्रसाद गुप्ताले मिति २०३८।०९।१२ मा ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७६।०३।०५ मा सि.डि.ई. पदबाट अवकाश भएको अवधिसम्म निजले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति रु.१६,७२,५६,४९६ ।८६ बिगो कायम गरी निज काशी प्रसाद गुप्ता र निजको श्रीमती मीता गुप्तासमेत १३ जना बिरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

तत्कालीन सि.डि.ई. काशी प्रसाद गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७७।०९ ।२९ सम्मको वैध आय रू.१,११,६९,९६२।६३ आर्जन गरेको र सोही अवधिमा निजले रू.१७,८४,२६,४५९।४९ खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू.१६,७२,५६,४९६।८६ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यस्तो खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापन समेत गरेको देखिएकोले आरोपी काशी प्रसाद गुप्ताको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखिँदा निज राष्ट्रसेवक कर्मचारी काशी प्रसाद गुप्तालाई सजाय हुन माग दावी लिइएको र निज काशी प्रसाद गुप्ताको एकासगोलकी पत्नी मिता गुप्ताले आफ्नो पति काशी प्रसाद गुप्ताले पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरी आरोपी काशी प्रसाद गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउन छिपाउन सहयोग, दुरूत्साहन गर्ने समेत कार्यमा प्रत्यक्ष संलग्न रही साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियार हुने भ्रष्टाचारजन्य कसुर गरेको देखिँदा निज आरोपी मिता गुप्तालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियारको कसुरमा बिगो रू.१६,७२,५६,४९६ ।८६ कायम गरी सजाय हुन मागदावी लिई १३ जना उपर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

साथै निज आरोपी काशी प्रसाद गुप्ताले आफन्तहरु अन्जु कुमारी महतो, उदित नारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचना प्रसाद शाहा, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्ताको नाममा खाता खोली रू.१०,४४,४३,७८३ ।९८ रकम लुकाई छिपाई राखेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ एवं अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम निजहरुलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कायम गर्ने गरी मागदावी लिइएको छ ।

प्रवक्ता
तारानाथ अधिकारी