जनता टाइम्स

२ बैशाख २०७८, बिहीबार १९:०३

‘फ्युचर अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली : पाकिस्तान र मलेसियाका प्रधानमन्त्री र भारतीय बिदेशमन्त्री पनि बक्ता


काठमाडौं, बैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ ६ र ७ गते आयोजना हुने ‘एसियाको भविष्य’ विषयक छलफल सत्रलाई भर्चुअलरुपमा सम्बोधन गर्नुहुने भएको छ । जापानको प्रतिष्ठित मिडिया हाउस निक्केइ इन्कर्पोरेसनले आयोजना गर्ने उक्त सत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने हुनुभएको हो ।

सो सत्रलाई प्रधानमन्त्री ओलीसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खान, मलेसियाली प्रधानमन्त्री महाथिर बिन मोहम्मद, थाइल्यान्डका प्रधानमन्त्री प्रत्युत चान चालेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी भारतीय विदेशमन्त्री एस जयशंकर र सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी किटसहित अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका एसिया मामिला हेर्ने पूर्व बरिष्ठ निर्देशक इभान मेडेइरोस वक्ता हुनुहुन्छ ।

आयोजक संस्था निक्केइ इन्कर्पोरेसनले आफ्नो वेबसाइटमा कोभिड महामारीपछि विश्वको पुनर्उत्थानमा एसियाको भूमिकाबारे छलफल केन्द्रित हुने उल्लेख गरेको छ । यसैगरी शान्ति, स्थायित्व र विविधतालाई संरक्षण गर्दै भविष्यमा आउन सक्ने महामारी र अन्तर्राष्ट्रिय मुद्दामा हातेमालो गर्नेबारे छलफल हुने समेत उल्लेख छ । एसियाको भविष्य शीर्षकमा हुने यो २६ औं सम्मेलनका लागि गतवर्ष पनि प्रधानमन्त्री ओलीलाई निम्तो आएको थियो ।

कोभिडका कारण गतवर्ष हुन नसकेको यो छलफलमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।